‘सूचनालाई भरपर्दो र विश्वसनीय बनाउन सम्बद्ध सबै सक्रिय बन्नुपर्छ’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले विपद्को समयमा सूचनाको महत्व सामान्य अवस्थामा भन्दा धेरै हुने हुँदा सूचनालाई भरपर्दो विश्वसनीय बनाउन सम्बद्ध सबै पक्ष संवेदनशील र सक्रिय बन्नुपर्ने बताउनुभएको छ ।

विपद सूचना प्रणालीमा आवश्यक सुधारका पक्षहरूबारे समीक्षा गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मिडिया एक्सनको संयुक्त आयोजनामा आज सम्पन्न कार्यशालामा सचिव अर्यालले विपद्को पूर्व सूचना प्रसारणलाई प्रभावकारी बनाउन मन्त्रालयले समन्वय गर्ने बताउनुभयो ।
कार्यशालामा सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीले पूर्व सूचना प्रणाली मार्फत विपद्को जोखिम ३० प्रतिशतसम्म कम गर्न सकिने अध्ययनहरूले देखाएको उल्लेख गर्नुभयो ।
कार्यशालामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण,जल तथा मौसम विज्ञान विभाग लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको सहभागिता रहेको थियो ।
सन् २०२७ सम्ममा संसारका सबै नागरिकसम्म पूर्व सूचनाको पहुँच पुर्याउने संयुक्त राष्ट्र संघीय घोषणा अनुरुप सवैका लागि पूर्व सूचना अभियान सञ्चालित छ ।
प्रतिक्रिया राख्नुहोस्