वैदेशिक महिला श्रमिकको उद्धार कूटनीतिक समन्वयमार्फत भइरहेको छ : मन्त्री सुँडी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुँडीले वैदेशिक रोजगारीको सिलसिलामा शोषणमा परेका महिला श्रमिकहरूको उद्धारका लागि कूटनीतिक समन्वयको काम भइरहेको बताउनुभयो ।
प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा, वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था सम्बन्धमा भएको छलफलमा महिला मन्त्री सुँडीले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन रोजगारीमा जाने श्रमिकहरूलाई कानुनी प्रक्रिया पुरा गरेर मात्र जान आग्रह गर्नुभयो ।
यस्तै, मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले महिला श्रमिकहरूको सामाजिक सुरक्षासहित समान ज्याला सम्बन्धी कानुनको कार्यान्वयन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
बैठकमा सहसचिव आभा श्रेष्ठ कर्णले श्रम स्वीकृति नलिई विदेश गएका धेरै महिला श्रमिकहरू मानसिक तथा शारीरिक यातनामा पर्ने गरेकाले स्वदेशमै रोजगारी सिर्जना र सशक्तीकरणको कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत, वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले व्यक्तिगत र अवैध रूपमा विदेशिने श्रमिक बढी शोषित हुने भएकाले कानुनी तथा संस्थागत प्रक्रियाबाट मात्र जान सुझाव राख्नुभयो ।
बैठकमा, सांसदहरूले श्रम सम्झौता भएका देशहरूमा समेत नेपाली महिला श्रमिकहरू शोषणमा परेका र उद्धारमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गर्नुहुँदै गैरकानुनी एजेन्ट तथा मानव बेचबिखन रोक्न कानुनी व्यवस्था र यसको कार्यान्वयन मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्