फेवातालको सीमा स्तम्भ गाड्ने कार्य सम्पन्न, १ हजार ५५ वटा पिल्लर गाडियो

पोखरा । पोखरा फेवातालको सीमाङ्कन पश्चात् तालको सिमानामा सीमा स्तम्भ गाड्ने कार्य सम्पन्न गरिएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा पोखराको ताल घर क्षेत्रमा १ हजार ५५ वटा सीमा स्तम्भ गाड्ने कार्य सम्पन्न भएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो ।
सर्वोच्च अदालतको आदेश अनुसार आफूहरूले विभिन्न संघ संस्थाको समन्वयमा उक्त कार्य सम्पन्न भएको उहाँले जनाउनु भयो । उक्त अभियानमा सहयोग गर्ने प्रति धन्यवाद दिँदै मेयर आचार्यले अब दोस्रो चरणको फेवाताल संरक्षणको अभियान सुरु गर्ने बताउनु भयो । मेयर आचार्यले भन्नुभयो यो कार्यलाई “ऐतिहासिक उपलब्धिको रूपमा लिँदै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबै निकायप्रति आभार व्यक्त गर्दछौँ ।” करिब ४५ दिनको अवधिमा ताल सीमाङ्कन कार्य सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले उक्त कार्यमा प्राविधिक टोली, कर्मचारी, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न पक्षको सहभागिता रहेको थियो ।
पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीका अनुसार तालको चार किल्लामा १ हजार ५५ डिजिटल सीमा स्तम्भ गाडिएको छ । तीमध्ये ६ सय ११ वटा पिल्लर सिमेन्टेड (कंक्रिटका) रहेका छन्। फेवाताल संरक्षण सम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै पोखरा महानगरपालिकाले सम्बन्धित निकायसँग समन्वय गरेर कार्य अघि बढाएको उहाँले जनाउनु भयो ।
फेवातालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको क्षेत्रको सीमाङ्कनले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान संरक्षणमा महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिका संयोजक एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र सङ्घीय सरकारका प्रतिनिधि जिल्ला प्रशासन कार्यालय कास्कीका तत्कालीन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले फेवातालको किनाराबाट पोल गाड्न गत जेठ १७ गते सुरु गरेका गर्नु भएको थियो । तालमा वर्षाका बेलाको उच्च सतह बाट ६५ मिटरसम्म मापदण्ड कायम गर्ने गरी सर्वोच्चको आदेश अनुसार नै सीमाङ्कन गरिएको मेयर आचार्यले बताउनु भयो ।
यसैबिच, पोखराको फेवातालको सिमाङ्कन गर्न लागेको विरोधमा जग्गा धनी केही स्थानीयहरूले बिरोध गर्दै आउनु भएको छ । फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरेको हो । पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० से.मि उचाइका २९ पिल्लरहरु जमिनमुनि गाडिएका छन् । यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएका छन् ।
सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको छ । उक्त विन्दुलाई आधार मान्दा तालको ताल घर ६.३४३ वर्ग कि.मरी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ । सर्वोच्च अदालतले तोकेको ६५ मिटर समेतको क्षेत्रफल ७.६१६ वर्ग किमी (१४ हजार ९७० रोपनी) हुन आएको मेयर आचार्यले जनाउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्