स्याउ खेतीबाट आत्मनिर्भर बन्दै पाण्डुसैनका किसान

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनका किसान स्याउ खेतीबाट आत्मनिर्भर बन्न थालेका छन्। पछिल्ला वर्षमा स्याउले राम्रो उत्पादन दिन थालेपछि अधिकांश स्थानीयले व्यावसायिक रूपमा स्याउ खेती सुरु गरेका हुन्।
कृषकहरूका अनुसार एक जनाले न्यूनतम १०० देखि ७ हजारसम्म स्याउका बोट लगाएका छन्। यस क्षेत्र स्याउ उत्पादनका लागि जिल्लामै उत्कृष्ट मानिन्छ। पहिले सडक अभावका कारण बारीमा कुहिने स्याउ अहिले मार्तडी–कोल्टी सडक विस्तारसँगै बजारसम्म पुग्न थालेको छ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार हाल पाण्डुसैनका तीन सयभन्दा बढी घरधुरीले स्याउ खेती गर्दै आएका छन्। यहाँ स्थानीय जातका साथै गोल्डेन, हाईडेन्सिटी, डेलिसियसजस्ता नयाँ जातका स्याउ पनि रोपिएका छन्।
सहारा स्याउ फर्मका आशिष रावतका अनुसार गत वर्ष आम्दानी सन्तोषजनक भए पनि यो वर्ष खडेरी र असिनाले उत्पादन घटाएको छ।

पाण्डुसैनसँगै जगन्नाथ, स्वामिकार्तिक, खापर गाउँपालिकाका लेकाली भूभागमा पनि राम्रो स्याउ उत्पादन हुने गरेको छ। यहाँको स्याउ धनगढी, नेपालगञ्ज, सुर्खेत, काठमाडौँ लगायतका सहरमा बिक्री हुने गरेको छ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम सहानीका अनुसार हाल जिल्लामा वार्षिक करिब ६ सय मेट्रिकटन स्याउ उत्पादन हुँदै आएको छ। केन्द्रले ढुवानीका लागि किसानलाई अनुदान सहयोगसमेत दिँदै आएको छ। स्थानीय कृषकले एक सिजनमै स्याउबाट करिब ५० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्