आगलागीमा ३ घर जलेर नष्ट,२० लाख बढीको क्षति
वीरगञ्ज । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका बडानम्बर–१, बलुवा टोलमा गएराति आगलागी हुँदा तीन घर पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
राति करिब ११ बजेको समयमा स्थानीय शेशनाथ मुखिया बिनको घरमा लामखुट्टे धपाउन बालिएको धूपबाट सल्किएको आगोले छिमेकी जितेन्द्र मुखिया बिन र सनोज मुखिया बिनका घरहरू समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी महादेवपट्टिका प्रहरी सहायक निरीक्षक अवधलाल साहका अनुसार आगलागीमा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, गरगहना तथा शेशनाथ मुखियाको किराना पसलसमेत पूर्ण रूपमा नष्ट भएको छ । मानवीय क्षति नभए पनि आर्थिक रूपमा २० लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगो लागेपछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्कालै उद्धार तथा नियन्त्रण कार्यमा खटिएर राति करिब १ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । यसैबीच, आगलागीबाट प्रभावित परिवारहरूलाई स्थानीय समाजसेवी शेख नुमान आजमले आज बिहानै पीडित परिवारलाई तत्काल राहतस्वरूप चामल, दाल, नुन, तेललगायत अत्यावश्यक खाद्य सामग्रीहरू वितरण गर्नुभएको छ ।
स्थानीय तह, प्रहरी प्रशासन र सामाजिक अगुवाहरूको सक्रियतामा राहत र पुनःस्थापनाका प्रयासहरू अघि बढाइएको छ । पीडित परिवारहरूको सहयोगका लागि थप राहत तथा सहयोगको आवश्यकता रहेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्