तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक र औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ र औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक २०८२ प्रस्तुत भएको छ । 

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको तर्फबाट साइबर सुरक्षा विधेयक  प्रस्तुत गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय कारोबार ऐनलाई समयसापेक्ष परिमार्जन गरी नयाँ प्रविधि अनुरुप बनाउन र साइवर सुरक्षा सम्बन्धी व्यवस्था थप गर्न विधेयक तर्जुमा गरिएको बताउनुभयो ।

यस्तै, बैठकमा औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक प्रस्तुत गर्नुहुँदै वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्तिको दर्ता, नियमन, प्रवर्द्धन र अभिलेख व्यवस्थित गर्न विद्यमान कानुन संशोधन र एकीकृत गर्न आवश्यक भएकोले विधेयक प्रस्तुत गरिएको बताउनुभयो ।

यसैगरी, प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

बैठकमा प्रस्तुत प्रस्तावमाथिको छलफलपछि सभाले राष्ट्रियसभाबाट भएको संशोधनको केही प्रावधान बाहेक स्वीकृत गरेको छ ।

यसअघि प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको स्पेन सम्मेलनमा भाग लिन गएका केही नेपाली नफर्किएको बारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्नुभयो । 

यस्तै, सांसदहरूले मन्त्रीहरूले घुसको डिल गरेको भनिएको अडियोको सत्य तथ्यबारे सदनलाई जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरूले सिँचाई सुविधा नपुगेको र पर्याप्त वर्षा नहुँदा रोपाई हुन नसकेका तराई मधेसको क्षेत्रहरूलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरी किसानलाई उचित राहतका कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभयो ।

यस्तै, कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा सेवाग्राहीलाई पटक पटक झुलाउने, दुःख दिने जस्ता कार्यहरू भएको भनी आमसञ्चार माध्यममा सेवाग्राहीको गुनासो आएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरुले कर्मचारीको ढिलासुस्तीका कारण म्याद भित्रै विवरण बुझाएका कम्पनीहरूलाई जरिवाना छुटको सुविधा दिई समस्या समाधानको व्यवस्था गर्न माग गर्नुभयो । 

बैठकमा सांसदहरुले स्वास्थ्य बीमा सेवालाई सहज र सबैको पहुँचमा पु¥याउन, जुम्लाको खानेपानी कार्यालय खारेज नगर्न, कर्णाली प्रदेशका ग्रामीण क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले बैठकमा रसुवा जिल्लामा हालै आएको बाढीमा परी बेपत्ता भएकाहरूको यथाशीघ्र खोजी एवं राहत तथा पुनस्थापनाको कामलाई प्राथमिकता तथा कञ्चनपुरको कृष्णपुरमा छाउ गोठमा सुतेकी २८ वर्षीय कमला अजिको सर्पले टोकाईबाट मृत्यु भएको घटनाप्रति गम्भीर बन्न र छाउपडी प्रथाको अन्त्यका लागि कठोर कदम चाल्न माग गर्नुभयो ।

यस्तै भिजिट भिसा प्रकरणमा छानविन गर्न संसदीय छानविन समिति गठन हुनुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आज पनि सदन बहिस्कार गर्नुभएको छ । 

आजको बैठक सुरु भएलगत्तै सांसदहरूले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद सुमना श्रेष्ठलाई बोल्न समय दिनुभयो । 

त्यसपछि रास्वपा सांसद श्रेष्ठले स्पेन काण्डले आफूहरूले उठाउँदै आएको भिजिट भिसा प्रकरणको मागको सान्दर्भिकता अझै बढाएकोले यसमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्नुभयो । 

बैठकमा सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपाका सांसदहरूपछि अन्य दलका सांसदहरूलाई बोल्न समय दिनुभएपछि रास्वपा र राप्रपाका सांसदहरू बैठकबाट बाहिरिनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक भोली असार ३० गते सोमबार दिनको १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button