तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङको कालुङखोलामा आएको बाढीका कारण १ अर्ब ४ करोड बराबरको क्षति

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९, पैयुँथन्थापमा गत मङ्गलवार आएको बाढीले करिब एक अर्ब चार करोड रुपियाँ बराबरको क्षति पुर्याएको छ ।

पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजना, सिँचाई कुलो, पुल, बिद्युत् लगायत गरि करिब एक अर्ब चार करोड रुपियाँ बराबरको क्षति पुर्याएको हो ।

जलविद्युत् आयोजना बगाउँदा झन्डै दुई करोड रुपियाँ बराबरको क्षति भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । 

जलविद्युत् आयोजनामा क्षति पुग्दा त्यस ठाउँका १ सय २२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । बाढीले त्यस ठाउँका १० वटा सिँचाइ कुलोमा क्षति पुर्याएको छ ।  विभिन्न क्षति मूल्याङ्कन गर्दा करिब एक अर्ब चार करोड रुपियाँ बराबरको क्षति पुगेको उपप्रमुख शर्माले बताउनुभयो । बाढीले गत वर्ष मात्र ३५ लाख रुपियाँ खर्चेर निर्माण गरिएको पुल बगाएको छ भने  केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा समेत क्षति पुर्याएको छ ।

बाढीले त्यस ठाउँको खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको छ । वार्षिक आठ सयदेखि एक हजार मुरी धान उत्पादन हुने खेत बगरमा परिणत भएको उपप्रमुख शर्माले बताउनुभयो । बाढीका कारण छ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

स्थानीय कुलबहादुर थापा, टेकबहादुर थापा, खड्गबहादुर थापा, केयरसिंह थापा, पहलसिंह थापा र खमबहादुर थापाको घर पहिरोको उच्च जोखिममा परेका छन् भने ठेउलेका पाँच घर जोखिममा परेका छन् । बाढीका कारण टेकबहादुर थापाको गोठमा रहेको एक हल गोरुको मरेको छ । बाढीले कुश्मीसेरा–पैयुँथन्थाप–राङखानी हुँदै बरेङ जाने सडक समेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button