फेवाताल किनारमा ७८० सीमास्तम्भ
कास्की । पर्यटकीय आकर्षणको रुपमा रहेको फेवाताल संरक्षणका लागि पिल्लर गाड्ने कार्य जारी रहेको छ । सर्वोच्च अदालतको परमादेश अनुसार फेवातालको सीमाङ्कनका क्रममा बुधवारसम्म ७८० सीमास्तम्भ (पिल्लर) गाडिएको छ ।
पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा गत जेठ १७ गतेदेखि तालको किनारमा सीमास्तम्भ गाड्न सुरु भएकामा हालसम्म तालघरमा सो सङ्ख्यामा पिल्लर गाडिएको हो । महानगरले तालको किनारमा एक हजार ५५ पिल्लर गाड्ने योजना बनाएको छ । ड्यामसाइड, केदारेश्वर मन्दिर, फिस्टेल गेट, रत्नमन्दिर, बाराहीघाट, हल्लनचोक, गैराको चौतारा, सेदी, रात्माटेडाँडा, खपौँदी, माछापोखरी, भकुन्डे, चंखपुर, मार्की, पाखुरीकुना, माझीपोखरी, माछीपोखरीलगायत क्षेत्रमा पिल्लर गाडिएको पोखरा महानगरपालिका नगर प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो।
ताल घरमा सीमास्तम्भ गाड्ने कार्यमा सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । महानगर प्रमुख धनराज आचार्यले सीमाङ्कनको काम सम्पन्न भएपछि तालको सौन्दर्यकरण गरिने बताउँदै आउनुभएको छ । ।
सर्वोच्च अदालतको परमादेश अनुसार तालको उच्चतम वर्षायामको जलस्तरको सिमानामा पिल्लर गाडिएको हो । गाडिएको पिल्लरबाट ६५ मिटरभित्रको जग्गा फेवातालको जलाधार क्षेत्रमा पर्नेछ । तालमा पानीको बहाव उच्च भएको बिन्दु ७५४.५५ मिटर निर्धारण गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्