गाजा युद्ध समाप्त गर्नेबारे नेतान्याहु र ट्रम्पबीच ह्वाइटहाउसमा वार्ता
काठमाडौं।इजरेयली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले अमेरिकी राष्ट्रपतिलाई चौबिस घण्टामा दुई पटक भेटेर गाजा युद्ध समाप्ति र बन्दी रहाइबारे छलफल गर्नुभएको छ ।
कतारमा आयोजित युद्धविराम वार्ता विफल भएपछि नेतान्याहु अमेरिका जानुभएको हो । गाजाको लडाकु समूह हमासले बन्दी बनाएका इजरेयलीहरूलाई रिहा गर्ने र युद्धविराम सम्झौता गर्ने विषयमा कतार वार्ता विफल भएको थियो । सोही विषयमा ट्रम्प र नेतान्याहुबीच कुरा भएको हो ।
हमासले सन् २०२३ को अक्टुबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि गाजा युद्ध शुरु भएको हो । त्यसमा १२ सय इजरायलीको मृत्यु भएको थियो भने २५१ जना इजरेयलीलाई हमासले बन्धक बनाएको थियो ।
इजरायलको जवाफी कारबाहीमा हालसम्म ५७ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार गाजाको अधिकांश जनसंख्या विस्थापित भइसकेको छ र करिब ५ लाख मानिस भोकमरीको जोखिममा छन् ।
हमासले कब्जामा राखेका १० जीवित बन्धकहरूको रिहाइ र ९ मृत बन्धकहरूको फिर्तालाई इजरेयलले आफ्नो प्रमुख लक्ष्य राखेर गाजामा आक्रमण गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्