तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश स्तरीय महिला टी २० क्रिकेटको उपाधि स्याङ्जालाई

पोखरा । गण्डकी प्रदेश टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङजा जिल्लाले जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा शनिबार पोखरामा भएको फाइनल खेलमा स्याङ्जाले कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै स्याङ्जाले नगद १ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो ।

५७ रनको झिनो विजयी लक्ष्य पाएको स्याङ्जाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पुरा गर्‍यो । स्याङ्जाका लागि सिमाना केसीले १७ रनको अविजित पारी खेल्नुभयो । उहाँले २२ बलमा १ चौका प्रहार गर्नु भयो । कुसुम गोदार ११ रनमा अविजित रहनुभयो ।  कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान १/१ विकेट लिए लिनु भयो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले १६ ओभरमा अलआउट हुँदै ५६ रन मात्रै समेटियो । कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सक्नुभएन । रेखाले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा रचनाले २५ बलमा २ चौका प्रहार गर्नुभयो । स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले ३ ओभरमा ६ रन खर्चेर सर्वाधिक ४ विकेट, सिमाना केसीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिन सफल हुनुभयो ।

स्याङ्जाकी सिमाना केसी सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भयो । उहाँ खेलको वुमन अफदी म्याचसँगै उत्कृष्ट बलर समेत घोषित हुनुभयो । कास्कीका सिर्जना पौडेल उत्कृष्ट ब्याटर र सोनिमा पुन मगर उदीयमान खेलाडी घोषित हुनुभयो । चार दिनसम्म चलेको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button