तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

पोखरा । जलवायु परिवर्तनको असरसँग जुध्न नेपालले अनुकूलन र न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्नेमा सो क्षेत्रका विज्ञहरूले जोड दिएका छन् । मेची–महाकाली मिडिया सोसाइटीद्वारा पोखरामा आज आयोजित ‘सञ्चारकर्मीहरूसँग जलवायु संवाद’ कार्यक्रमका वक्ताहरूले जलवायु न्यायका लागि नेपालले विश्व समुदायसमक्ष स्पष्ट अडान राख्नुपर्ने बताउनुभएको हो । 

वातावरण तथा जलवायु परिवर्तनको नीति तथा अर्थशास्त्र क्षेत्रमा कार्यरत अर्जुन ढकालले जलवायु परिवर्तन बिस्तारै आर्थिक मुद्दा बन्दै गएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनलाई सङ्कटका रूपमा मात्र नहेरी त्यसलाई अवसरका रूपमा पनि लिनुपर्ने बताउनुभयो । “जलवायु परिवर्तनका सबैभन्दा बढी असर खेपिरहेको हिमालय क्षेत्रको मध्यभागमा पर्ने भएकाले जलवायु मुद्दाको नेतृत्व नेपालले लिन सक्छ”, उहाँले भन्नुभयो, “यसले आर्थिक, प्राविधिकलगायत अन्य अवसर पनि सृजना गर्छ ।”

ढकालले विश्वमा औद्योगिकीकरणको विकास भएसँगै पृथ्वीको औसत तापक्रम बढ्दै गएको र त्यसले जलवायु सङ्कट निम्त्याएको बताउनुभयो । कार्बन उत्सर्जनमा नेपालको भूमिका नगन्य मात्रामा रहे पनि जलवायु परिवर्तनको ठूलो असर नेपालले झेलिरहेको उहाँको भनाइ छ । पृथ्वीको तापक्रम बढ्दा पानीको चक्र र जैविक प्रणाली नै खलबलिएको ढकालले बताउनुभयो । “जलवायु परिवर्तनका कारण हिमनदी पग्लेर हिमताल बन्ने क्रम बढ्दो छ, हिमताल फुट्ने जोखिम पनि उत्तिकै छ”, उहाँले भन्नुभयो । 

ढकालले क्षतिपूर्तिसहितको जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय जगत्मा पहुँच र पहल बढाउनुपर्ने उल्लेख गर्नुभयो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसीले जलवायु मानवीय गतिविधिका कारण विश्वले वातावरणीय सङ्कट झेलिरहेको बताउनुभयो । वातावरण संरक्षणसँगै र दिगो विकासमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । जलवायु परिवर्तनलाई रोक्न नसकिने जनाउँदै प्रा डा सुवेदीले यसका असर न्यूनीकरणसँगै परिवर्तित अवस्थामा अनुकूलनका उपायहरू अपनाउनुपर्ने  धारणा राख्नुभयो । 

खाद्य अधिकारका जानकार डा भेषराज अधिकारीले जलवायु परिवर्तनले कृषि प्रणालीमा पनि असर पु¥याइरहेको बताउनुभयो । जैविक विविधतामा ह्रास आउँदा त्यसले खाद्यान्न सङ्कट ल्याउन सक्ने उहाँको भनाइ छ । 

वन तथा वातावरण मन्त्रालयका सहसचिव अजय कार्कीले शाकाहारीको तुलनामा मांसाहारी जीवजन्तुमा जलवायु परिवर्तनको असर कम परेको अनुसन्धानबाट देखिएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनबारे नीति र योजना बने पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । 

सहसचिव कार्कीले जलवायु परिवर्तनका कारण खनिज, वनस्पति र प्राणी जगत्मा गम्भीर असर पुगेको बताउनुभयो । त्यस्तो असरलाई घटाउने र अनुकूलन योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा आयोजित उक्त संवाद कार्यक्रममा गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव पुर्णेश्वर सुवेदी, हिमाल बचाऊ अभियानकर्मी डिबी नेपाली, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रवीन कडरियाले जलवायु परिवर्तनका असरबारे धारणा राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button