तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा 

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले पूर्णखोप सुनिश्चितता तथा खोप सेवाको दिगोपना सुनिश्चित भएको घोषणा भएको  छ । स्वास्थ्य सेवा पहुँचमा सबल पहल कदमसहित जनस्वास्थ्य प्रवद्र्धनमा उल्लेखनीय प्रगति गर्दै उपमहानगरले यो उपलब्धि हासिल गरेको जनाएको छ ।

घोषणासँगै नगरभित्र १५ महिना मुनिका सबै बालबालिकाले नियमित खोप सेवा प्राप्त गरिसकेको र खोप कार्यक्रम स्थायी रूपमा सञ्चालन गर्न पर्याप्त पूर्वाधार, जनशक्ति र स्रोतसाधन सुनिश्चित भएको जानकारी दिइएको छ ।

नगर स्वास्थ्य शाखाका अनुसार स्थानीय तहको सक्रियता, स्वास्थ्यकर्मीहरूको समर्पण र समुदायस्तरको सचेतनाले यो उपलब्धि सम्भव भएको हो । कार्यक्रमको अवसरमा जनस्वास्थ्यमा योगदान पुर्‍याउने स्वास्थ्यकर्मी र सङ्घसंस्थालाई सम्मानसमेत गरिएको थियो ।

जनकपुरधाम उपमहानगरका प्रमुख मनोज कुमार साहले खोप सेवा जनताको मौलिक स्वास्थ्य अधिकार भएको उल्लेख गर्दै त्यसको दिगोपना सुनिश्चित गर्नु नगरपालिकाको प्राथमिकता भएको बताउनु भयो । उहाँले अबको ध्यान गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा केन्द्रित हुने बताउनु भयो । 

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जनकपुरधाम उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा भएकोमा खुशी व्यक्त गर्दै गुणस्तरीय स्वास्थ्य सेवा तर्फ अग्रसर हुनका लागि आग्रह गर्नु भयो । 

विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाहरूको समेत उपस्थिति रहेको कार्यक्रममा खोप सुनिश्चितता र दिगोपनाको सफल कार्यान्वयनलाई नमूना नगरका रूपमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय धनुषाका कार्यालय प्रमुख उमेश यादव पनि सहभागी रहनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button