सरकारले जनपक्षिय काम गर्दा चौतर्फी हमला : मन्त्री भण्डारी
डडेल्धुरा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जनताको पक्षमा काम गर्दा सरकार माथी चौतर्फी हमला भइरहेको बताउनुभएको छ ।

गृह जिल्ला बैतडीबाट फर्किने क्रममा शुक्रबार डडेल्धुरा आइपुग्नुभएका मन्त्री भण्डारीले कार्यकर्तासँगको भेटघाटमा जनताको पक्षमा उभिएर सरकारले काम गरिरहेको बेला चौतर्फी घेराबन्दी पार्ने काम भइरहेको भन्दै जनताको पक्षमा उभिँदा सरकारमाथि बाह्य र आन्तरिक पक्षबाट खतरा भइरहेको गुनासो गर्नुभयो ।
राष्ट्रिय राजनीति, सरकारको प्राथमिकता, उद्योग तथा आपूर्ति क्षेत्रका विषयमा सरकारको नीति तथा योजनाहरूबारे प्रस्ट्याउँदै मन्त्री भण्डारीले विगतमा ओरालो लाग्दै गरेको अर्थतन्त्र लयमा फर्किरहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
झण्डै १ अर्ब रुपैयाँ बराबरको लगानीमा ऋण प्रवाह गरिरहेको प्रसङ्ग कोट्याउँदै मन्त्री भण्डारीले सरकारले साना साना उद्योग स्थापना गर्दै रोजगारी सिर्जना गरिरहेको बताउनुभयो ।
सुदूरपश्चिमको धनगढीमा दशरथचन्द मेडिकल कलेज र दैजी छेला औद्योगिक ग्राम बनाएर सुदूरपश्चिमको बिकास र समृद्धिमा निकै टेवा पुग्ने उहाँले बताउनुभयो ।
जिल्ला स्थित पार्टीका नेता कार्यकर्ताहरू र पेशागत सङ्गठनका नेताहरूले पार्टी भित्र भइरहेको गुटबन्दी र विकास निर्माणमा भइरहेको चरम लापरवाही र सुशासन पारदर्शिता कायम गराउन सरकारी संयन्त्रहरूलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया राख्नुहोस्