नागरिक उन्मुक्ति पार्टीद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
सुदूरपश्चिम । नागरिक उन्मुक्ति पार्टी संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदमुक्त गर्नुभएपछि धनगढीमा आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
मुख्यमन्त्री शाहले मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदमुक्त गर्नुभएको थियो । बैठकपछि संसदीय दलका नेता घनश्याम चौधरीले पार्टीको केन्द्रबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा आएको पत्रको आधारमा समर्थन फिर्ता लिने निर्णय गरिएको जानकारी दिनुभयो । प्रदेशसभामा चौथौँ ठूलो दल नाउपाका सात प्रदेशसभा सदस्य छन् ।
सो पार्टीले समर्थन फिर्ता लिने निर्णय गरे पनि शाह नेतृत्वको सरकारको पक्षमा बहुमत कायम छ । मुख्यमन्त्रीले मन्त्री चौधरीलाई यही असार पहिलो हप्तामा पदबाट राजीनामा दिन निर्देशन दिनुभए पनि उहाँले राजीनामा दिनुभएको थिएन ।
सरकारको आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने सवालमा गरिएको आग्रहलाई बेवास्ता गरिएपछि मन्त्री चौधरी पदमुक्त हुनुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका १८ र नेकपा (एमाले)का ११ जना प्रदेशसभा सदस्य छन् ।
प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र) सँग ११, नेकपा (एकीकृत समाजवादी)सँग चार (एक निलम्बित), एक राप्रपा र एक स्वतन्त्र सदस्य छन् ।
प्रतिक्रिया राख्नुहोस्