तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा बजेट कार्यान्वयनसँग सम्बन्धित आर्थिक विधेयक,–२०८२ र राष्ट्र ऋण उठाउने विधेयक,–२०८२ पारित भएको छ । 

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक,–२०८२ र राष्ट्र ऋण उठाउने विधेयक–२०८२ सुझाव विना बहुमतले पारित भयो । 

विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रोतले धान्न सक्नेगरी बजेट सन्तुलित रुपमा आएको बताउनुभयो । 

अर्थमन्त्री पौडेलले करका अन्तर्राष्ट्रिय मान्यता र स्थापित सिद्धान्त विपरीतका कर प्रणालीमा सुधार गर्न अग्रिम आय कर हटाइएको बताउनुभयो । 

यस्तै अर्थमन्त्री पौडेलले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने र उत्पादन वृद्धिका लागि परिचालन हुनसक्ने क्षत्रेमा मात्र ऋण लिनेगरी विधेयकमा व्यवस्था गरिएको पनि बताउनुभयो । 

बैठकमा विधेयकमाथिको छलफलमा भाग लिनुहुने सांसदहरूले सुन–चाँदीका गर–गहना नेपाली संस्कार र संस्कृतिको अभिन्न अङ्ग भएकाले बजेटमाथि लगाइएको विलासिताको कर फिर्ता हुनुपर्ने तथा खाद्यान्न, गेडागुडी र दुग्धजन्य बस्तुमा भन्सार विन्दुमा लिइँदै आएको अग्रिम कर खारेज गर्ने प्रस्तावले विदेशी उत्पादनको आयात बढ्न गई नेपाली उत्पादनले बजार नपाउने अवस्था सिर्जना सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै सांसदहरूले जनता आवास कार्यक्रम अन्तर्गत विनियोजन भएको बजेट न्यून रहेकोले रकम बढाउनुपर्ने, राजश्व चुहावट नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने, सीमित उद्योग व्यवसायीहरूलाई मात्र लाभ पुग्ने गरी दिइएका कर छुट र सहुलियतका कार्यक्रमहरू हटाइनुपर्ने माग समेत गर्नुभयो । 

यसअघि, बैठकको सुरुमा सांसदहरूले किसानलाई सहज रुपमा कृषि मल उपलब्ध गराइनुपर्ने, वर्षाको मौसम सुरु भइसकेको विपद् व्यवस्थापनका लागि सरकारको तयारीबारे सदनलाई जानकारी गराउनुपर्ने, बाढी र पहिरोका कारण अवरूद्ध सडकहरू तत्काल सुचारु गर्न सक्नेगरी सम्वद्ध निकायले सक्रियता देखाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै, सांसदहरूले बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेका बस्तीहरू तत्काल स्थानान्तरण गर्नुपर्ने, निजामती विधेयकमाथि भएको छेडखानीबारे सत्य तथ्य छानविन हुनुपर्ने तथा देशभर डेंगीको संक्रमण फैलिरहेकोले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २४ गते मङ्गलवार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button