तपाईँ सुन्दै हुनुहुन्छः

तस्कर र सशस्त्र प्रहरी बीच झडप, ६ घाइते

जनकपुरधाम । नेपाल भारतको सिमानासँगै जोडिएको धनुषाको विदेह नगरपालिकाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ ।

भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्काले जानकारी दिनुभयो । घाइते सशस्त्र प्रहरीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भएपछि राति नै डिस्चार्ज गर्ने काम भएको उहाँले जानकारी दिनुभयो ।

तस्करले प्रहरी माथि नै जाइलागेपछि नियन्त्रणमा लिन तथा आफ्नो आत्मरक्षाका लागि एस एल आर वाट चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्याँस प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

धनुषाको विदेह नगरपालिका वडा नंं २ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक रहेको घरमा तस्करी गरेर ल्याएको सामानहरू भण्डारण गरेको सूचनाको आधारमा प्रहरीका सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा पुगेको दुई टोली माथि ढुङ्गा मुढाका साथै घरेलु हतियारले आक्रमण गर्न थालेपछि हवाई तथा अश्रुग्याँस प्रहार गरेर ज्यान जोगाएका थिए ।

हिजो साँझ ७ बजेतिर तस्करीको समान घरभित्र भण्डारण गरेर राखेको सूचनाका आधारमा जाँदा नै आक्रमण भएको छ । सशस्त्र प्रहरी पुगे लगत्तै तस्करहरूको समूहले घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमण गर्न थालेका थिए ।

नेपाल भारतको सिमानासँग जोडिएको सो ठाउँमा दुवै देशका वस्ति जोडिएको जस्तो देखिएको छ । उक्त ठाउँबाट व्यापक मात्रामा भन्सार छलेर भारतबाट नेपाल र नेपालबाट भारत तर्फ तस्करी हुने गरेको छ ।

यसै बीच हिजो साँझ भएको घटना तथा मुस्लिम धर्माबलम्बीहरुको मोहरम्म पर्वलाई लिएर जिल्ला सुरक्षा अधिकारीहरूको बैठक आज धनुषामा बस्न लागेको छ । मुस्लिमहरूले भोली मोहरम्म पर्व मनाउन लागेको छ । उनीहरूले हातहतियार सहित प्रदर्शन गर्ने गरेका छन् ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button