‘जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छ’

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ ।
यहाँको दोगडाकेदार गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा समारोहमा उहाँले वर्तमान सरकारले केही गर्न नसकेको भन्ने भाष्य गलत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकार जनआकांक्षा पूरा गर्न काम गरिरहेको छ । केही भएको छैन भन्ने भाष्य गलत हो ।”
नेपालमै थुप्रै सम्भावना रहेकाले स्वरोजगार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रै वरिपरि थुप्रै सम्भावना छन् । तिनको खोजी गरेर उद्यमी बन्न जरुरी छ । त्यसमा सरकारले सहयोग गर्छ ।”
खानी, खनिज, जडीबुटी, कृषिमा सम्भावना रहेको बताउँदै उहाँले नेपालमै रोजगारीका अवसर रहेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले स्वास्थ्य र शिक्षा क्षेत्र प्राथमिकतामा रहेको बताउनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले महिला र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । दोगडाकेदारका १७ स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा सञ्चालनमा छ । गाउँपालिकाबाट गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स, मातृ शिशु कोष र कोशेली वितरण हुँदै आएका छन् ।
चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका ३०८ गर्भवतीले स्वास्थ्य संस्थामै बच्चा जन्माएपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको छ । समारोहमा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्