डोल्पामा अस्तित्वमा नै नरहेको विद्यालयको नाममा भ्रष्टाचार गरेको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर

डोल्पा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्तित्वमा नै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले डोल्पामा ‘झोले विद्यालय’ (अस्तित्वमै नरहेको) को नाममा नक्कली योजना खडा गरी राज्य कोषबाट रकम हिनामिना गरेको अभियोगमा जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन प्रमुख र लेखापालसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समिति अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष सङ्गीता बुढाविरुद्ध ‘झोले विद्यालय’को नाममा नक्कली योजना खडा गरी राज्य कोषबाट रकम हिनामिना गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।
उनीहरू विरुद्ध आ.व.२०६७÷०६८ मा तत्कालीन दुनै गाविस वडा नं.२ र ३ (हाल ठूलीभेरी नगरपालिका–४, तिप्ला)मा अस्तित्वमै नरहेको दुर्गा प्राथमिक विद्यालय स्थापना गरिएको देखाएर दुई कोठे भवन निर्माणको नाममा ७ लाख ६० हजार रुपैयाँको बजेट विनियोजन गराइएको आरोप छ । त्यस्तै, फर्जी उपभोक्ता समिति गठन गरेर निर्माणसम्बन्धी नक्कली कागजात तयार पारिएको र जिल्ला प्राविधिक कार्यालयकै प्रमुखको सिफारिसमा सो बजेट खर्च गरिएको अख्तियारले जनाएको छ।
चारै जनाको मिलेमतोमा सम्पूर्ण रकम भ्रष्टाचार गरिएको पुष्टि भएको भन्दै अख्तियारले उनीहरू विरुद्ध जनही ७ लाख ६० हजार रुपैयाँको बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।


प्रतिक्रिया राख्नुहोस्