बाम्का बजारका आगलागी पीडितलाई ६७ लाखभन्दा बढी राहत रकम हस्तान्तरण
बाजुरा। बाजुराको बाम्का बजारमा गत जेठ २३ गते भएको भीषण आगलागीबाट पीडित बनेकाहरूलाई ६७ लाख ८२ हजार ८ सय ६७ रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ। विभिन्न निकाय तथा व्यक्तिबाट संकलित उक्त रकम आइतबार एक औपचारिक कार्यक्रममार्फत पीडितहरूलाई प्रदान गरिएको हो।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाको अध्यक्षतामा गठित राहत संकलन तथा व्यवस्थापन समितिले उक्त रकमको चेक अग्निपीडितलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो। राहत संकलन अभियानमा सुदूरपश्चिम प्रदेश सरकार, बाजुराका नौ वटै स्थानीय तह, संघसंस्था, उद्योगी, व्यापारीलगायतले सहयोग गरेका थिए।
त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाका अनुसार विभिन्न निकायमार्फत हालसम्म झन्डै एक करोड रुपैयाँ बराबरको राहत संकलन भइसकेको छ।
उक्त आगलागी बाम्का बजारस्थित एक होटलमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा फैलिएको थियो, जसले बजार क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो।
बुढीगंगा नगरपालिकाका अनुसार राहतसहित पुनःनिर्माणको करिब ९० प्रतिशत काम पूरा भइसकेको छ।
प्रतिक्रिया राख्नुहोस्