तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदीले खल्लाझगडियामा कटान तीव्र

बाँके। बाँकेको नरैनापुर गाउँपालिका–६ र राप्तीसोनारी गाउँपालिका–७ को बीचमा पर्ने खल्लाझगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गर्दै गएको छ। यसले दुबै पालिकाका दर्जनभन्दा बढी गाउँका करिब ६० हजार बासिन्दा डुबान र बाढीको उच्च जोखिममा परेको स्थानीय शैयद इस्तियाक अहमद शाहले जानकारी दिनुभयो।

नरैनापुर गाउँपालिकाका अध्यक्षसमेत रहेका शाहले हालको अबिरल वर्षाका कारण नदीले कटान बढाउँदै खेतबारी र बस्तीमै पस्ने खतरा बढेको बताउनुभयो। उहाँले भन्नुभयो, “राप्ती नदीले कटान गर्दै धार नै परिवर्तन गर्न सक्ने जोखिम छ, त्यसैले तत्काल तटबन्ध निर्माणको काम सुरु गर्नु आवश्यक छ। म यसका लागि निरन्तर पहल गरिरहेको छु।”

नदी नियन्त्रणका लागि ‘जनताको तटबन्ध कार्यक्रम’ अन्तर्गत केही समयअघि कार्यालय प्रमुखसहितको टोलीले स्थलगत निरीक्षण गरिसकेको पनि अध्यक्ष शाहले जानकारी दिनुभयो। हालको अस्थायी बाँध भत्किएमा नरैनापुर र राप्तीसोनारीका कैयौं बस्ती र हजारौं बिगाहा जमिन जोखिममा पर्ने उहाँको भनाइ छ।

तटबन्ध निर्माणको विषयमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगर, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीलगायतले स्थलगत निरीक्षण गरी सावधानी अपनाउन स्थानीयलाई अपिल गर्नुभएको छ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बाढी व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद भइसकेको र चाँडै वितरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

राप्ती नदीको बहाव उच्च भएको र अस्थायी तटबन्ध कमजोर बन्दै जाँदा नदी गाउँतर्फ पस्ने अवस्था देखिएको छ। स्थानीयवासी तटबन्धको तत्काल निर्माणको माग गर्दै त्रासमा बस्न बाध्य भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button