लेक उक्लिए गोठाला
ढोरपाटन (बागलुङ) I बर्खामा लेक र हिउँदमा बेसी सर्ने पश्चिम बागलुङका गोठालाको परम्परानै भइसक्यो । निसीखोला, तमानखोला र ढोरपाटनका धेरैजसो स्थानीयको मुख्य पेसा पशुपालन भएकाले चरिचरनका लागि लेकबेसी गर्ने गर्छन् ।

यस वर्ष पनि बर्खा लागेसँगै गोठालाहरू वस्तुभाउ लिएर लेक उक्लिन थालेका छन् । असार पहिलो सातादेखि नै लेक उक्लिन सुरु गरेका गोठलाहरु कोही गोठमै पुगिसके भने कोही बीच बाटोमै छन् । असार अन्तिम सातासम्म सबै गोठाला लेकमा पुगिसक्छन् ।
एकै परिवारले सयौँको सङ्ख्यामा पशुपाल्ने हुँदा हिउँद बर्खा लेकबेसी गर्नु परेको हो । यतिबेला लेकमा उक्लिएका गोठलाहरु अब असोज ५ गतेपछि मात्रै बेसी झर्छन् । बर्खाभरी लेकमा बस्ने गोठलाहरुले चार महिनालाई पुग्ने खाद्यान्न र लत्ताकपडा बोकेर जाने गर्छन् ।
लेकमा बस्ने अधिकांश किसानको भेडीगोठ हुन्छ । केहीले गाई र भैँसी पनि लिएर गएका हुन्छन् । बर्खाभरी लेकमा बस्दा पशुको रेखदेखसँगै चोयाबाट बन्ने डोको, नाङ्लो, डाली, मान्द्रो र काठबाट बन्ने सामग्री बनाउने गर्छन् । जसले उनीहरूको आयआर्जनमा टेवा पुर्याएको हुन्छ ।
गोठालाहरू समुन्द्री सतहदेखि चार हजार ८०० मिटरको उँचाइसम्म पुगेर गोठ बनाएर बस्ने गर्छन् । ढोरपाटन–९ का तिलबहादुर मगरले यसपाली ढिलो गरी लेक उक्लिनुभयो । उहाँ गत वर्ष उहाँ असारको ३ गतेनै गर्पाछेडा पुग्नु भएको थियो ।
मगरले भन्नुभयो, “मेरा साथीहरू त एक साता पहिलेनै लेकमा पुगिसके, यसपाली घरमा काम गर्ने मान्छे थिएनन्, बारी बाँझो राख्न भएन, कोदो लगाएर जाऊँ भन्दा ढिलो भयो, ढिलै भए पनि जसोतसो आइयो, मेरा १२÷१५ वटा गाई र गोरु छन् ।”
६७ वर्षीय मगरले आफू नौ वर्षको उमेरदेखि भेडीगोठसँग लेकबेसी गर्न थालेको बताउनुभयो । गाउँमा वस्तुभाउ पाल्ने सबै किसानहरु लेक उक्लिसकेको उहाँको भनाइ छ । बर्खाको समय गाउँ सुनसान हुने भन्दै दसैँ सुरु हुन थालेपछि मात्रै मान्छेहरूको चहलपहल हुने मगरले बताउनुभयो ।
पहिलेको तुलनामा अहिले पशुपालन गर्नेहरुको सङ्ख्या कम हुँदै गएको उहाँ बताउनुहुन्छ । आफूले लामो समयदेखि पशुपालन गर्दै आएको कतैबाट अनुदान नपाएको मगरले गुनासो पोख्नुभयो ।
खासगरी किसानहरु रिग, सोलेडाँडा, गर्पाछेडा, टिकाधार, पोखरा, दहखर्क, खानीखोलालगायतका लेकमा पुग्ने गर्छन् । यी क्षेत्रमा पश्चिम बागलुङका मात्रै नभएर रोल्पा, रुकुम, डोल्पाबाट पनि सयौँको सङ्ख्यामा गोठालाहरू भेडा लिएर आउने गरेको निसीखोला गाउँपालिका–६ का पृथराम घर्ती मगरले बताउनुभयो ।
लेकमा धेरै ठाउँबाट गोठालाहरू आउँदा रमाइलो हुने भन्दै समस्या पर्दा एकले अर्कालाई सहयोग गर्ने उहाँको भनाइ छ । लेकमा पर्याप्त घाँस हुने हुँदा धेरै जसो गोठालाहरू बर्खाको समय बसीमा नबस्ने घर्ती मगरले सुनाउनुभयो । उहाँका ५०० बढी भेडाहरू छन् ।
“बाउबाजेले भेडाबाख्रा नपालेको भए सायद अहिले हामीहरू यो पेसामा हुने थिएनौँ, ऊ बेला पढाइ गर्ने चलन थिएन, म अहिले ७९ वर्षमा लागे, जन्मेदेखि नै बाउआमाले मलाई गोठमा हिँडाउनु भएको रैछ, त्यही भएर होला यो पेसा छोड्नै मन लाग्दैन” घर्ती मगरले भन्नुभयो, “बुढेसकाल लाग्यो, अब त केही वर्षपछि लेक उक्लिन सकिँदैन होला, बर्खामा बेसीमा वस्तुभाउ राख्न पाइँदैन, त्यहाँ बारीभरी खेती गरिएको हुन्छ, त्यही भएर अब दसैँ मान्न मात्रै तल झर्ने हो ।”
लेकबेसी गरेरै आफ्नो छ दशक बितेको तमानखोलाका गोरबहादुर रसाइलीले बताउनुभयो । दुई महिनाका लागि चाहिने अन्नपात लिएर लेक उक्लिन थालेको उहाँको भनाइ छ । बिरामी नपरे र कुनै समस्या नभए भदौमा मात्रै खर्च लिन घर झर्ने रसाइलीले बताउनुभयो । गाउँबाट लेक पुग्न झण्डै दुई दिन लाग्ने हुँदा लामो समयका लागि एकै पटक खर्च लिएर जाने गरेको उहाँ बताउनुहुन्छ ।
“अब आउने दसैँमा २०/३० वटा जति भेडा बिक्री गर्नु छ, त्यसले गर्दा पोहोर सालभन्दा केही दिन अगाडि बेसी झर्ने योजना बनाएको छ, अरू केही गर्न सकिएन यस सम्पत्ति पालेरै जीविको चलाएका छौँ, आठ÷दश भेडा वर्षै पिच्छे बिक्री हुन्छन्, त्यहीबाटै नुन तेल खाने पैसा आउँछ, बेसीमा मात्रै बसेर वस्तुभाउ पाल्न सकिँदैन” रसाइलीले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्