‘खो खो’ खेल क्षमता अभिवृद्धिका लागि चितवनमा प्रशिक्षक प्रशिक्षण सुरु
चितवन । चितवनमा खो खो खेल क्षमता अभिवृद्धि प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । जिल्ला खेलकुद बिकास समिति चितवनले प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशको सहयोगमा उक्त ५ दिने तालिम आयोजना गरेको हो ।

तालिमको आज (शुक्रबार) जिल्ला समन्वय समितिको सभा हलमा एक कार्यक्रमकाबीच प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशका सदस्य सचिव दीपक लामाले उद्घाटन गर्नुभयो । सो क्रममा लामाले प्रदेशमा खेलकुद ऐन बनिरहेको बताउनु भयो । उहाँले ऐन बनेपछि खेलकुदका लागि कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै उहाँले तालिम उपलब्धिमूलक बनाउन आग्रह गर्नुभयो ।
उहाँले तालिमबाट दक्षता हासिल गर्दै खो खो खेलमा विकासका लाग्न सम्पूर्ण प्रशिक्षार्थी प्रशिक्षकहरूलाई आग्रह गर्नुभयो । खो खो संघका केन्द्रीय अध्यक्ष प्रदीप महर्जनले यो कार्यक्रम निकै महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले हाल खो खो खेलमा नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढिरहेको बताउनुभयो । यस कारण पनि यस किसिमको कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक गोविन्द पुरीले तालिमको सफलताको कामना गर्नुभयो । उहाँले यसलाई उपलब्धिमूलक बनाउन पनि आग्रह गर्नुभयो । १८ गतेसम्म सञ्चालन हुने तालिममा बागमती प्रदेश अन्तर्गतका १२ जिल्लाबाट प्रशिक्षार्थी प्रशिक्षकहरू सहभागी छन् । उनीहरुलाई खो खो प्रशिक्षक लक्ष्मीनारायण वैद्य र दिलीपकुमार महर्जनले प्रशिक्षण दिनुहुनेछ ।
खो खो सम्बन्धी क्षमता अभिवृद्धिका लागि यो तालिम आयोजना गरिएको जिल्ला खेलकुद बिकास समिति चितवनका अध्यक्ष राजन कार्कीले बताउनुभयो । ५ महिना अघि मात्रै भएको प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपाल उपविजेता भएको थियो । नेपालको महिला र पुरुष दुवै टोली फाइनल प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको थियो । जुन कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेको पहिलो पटक थियो ।
प्रतिक्रिया राख्नुहोस्