तीनै तहका सरकारले इमान्दारिताका साथ काम गरे जनअपेक्षा पूरा गर्न सकिन्छ : उपसभापति खड्का

वीरगन्ज । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले तीनै तहका सरकारले इमान्दारिताका साथ काम गरे बिकास, सामाजिक न्याय र सुशासनको जनअपेक्षा पूरा गर्न सकिने बताउनुभएको छ ।
नेपाली काँग्रेस मधेस प्रदेशको आयोजनामा (भोली) शुक्रबारदेखि वीरगंजमा हुने काँग्रेसको प्रदेशस्तरीय अगुवा कार्यकर्ताहरूको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न आइपुग्नुभएका उपसभापति खड्काले आज सिमरा विमानस्थलमा संचारकर्मीहरुसँगको भेटघाटमा मधेसको विकास र समृद्धिका लागि नेपाली काँग्रेस सदैव क्रियाशील रहेको दाबी गर्नुभयो ।
उहाँले कांग्रेस पार्टी नेपाली जनताको सुख दुःखको साथी पार्टी भएको बताउँदै नेपाली जनता र मतदाताले पनि नेपाली काँग्रेसलाई तीन वटै तहमा पहिलो दल बनाएको उल्लेख गर्नुभयो ।
उहाँले नेपाली काँग्रेसभित्र रुपातन्तरणको कुरा चलिरहेको विषयलाई सङ्केत गर्दै नेपाली कांग्रेसका हरेक नेता कार्यकर्ता तथा काँग्रेसबाट निर्वाचित सबै तहका जननिर्वाचित प्रतिनिधिले आफैबाट सुधारको सुरुवात गर्नु नै पार्टीको सही रूपान्तरण हुनेमा जोड दिनुभयो ।
उपसभापति खड्काले आफूले गर्ने हरेक काम, आफ्ना प्रतिबद्धता र जनतासमक्ष देखाउने व्यवहारमा नेपाल, नेपाली जनता र मतदाताको हित चिताएर काम गरे काँग्रेसमा सकारात्मक रूपान्तरण हुने बताउनुभयो ।
उहाँले बदलिँदो युग र प्रविधिको विकासले सबैका गतिविधि जनताले नजिकबाट नियालिरहेको भन्दै जनअपेक्षा अनुसार मुलुकमा काम हुन नसक्दा जनतामा निराशा पैदा भएको र त्यसको अन्त्यका लागि तीनै तहका सरकारबीच आपसी सहमति, सहकार्य र समन्वय हुनुपर्ने कुरामा जोड दिनुभयो ।

यसअघि, आजै नेपाली काँग्रेसको प्रशिक्षणको बारेमा जानकारी दिने उद्देश्यले नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसका केन्द्रिय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले जनतामा उत्साह जगाउने काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिक दलका नेता–कार्यकर्ता इमान्दार र चरित्रवान् भए मात्र सरकारले जनताको हितमा काम गर्नसक्ने बताउँदै अहिले हरेक राजनीतिक दलभित्र शुद्धीकरण अभियान चलाउन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्