तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता शुरु

जनकपुरधाम । मधेश प्रदेश सरकारको आयोजनामा आज देखि जनकपुरधाममा मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता शुरु भएको छ । 

जनकपुरधामको अवध मिथिला सांस्कृतिक धर्मशालाको सभाहलमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विशेष समारोहका बीचमा उद्घाटन गर्नु भएको हो । प्रतियोगितामा सात प्रदेशका खेलाडीहरू सहभागी रहेको सो प्रतियोगिता असार १४ गतेसम्म चल्ने मधेश प्रदेशका खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानूले जानकारी दिनु भयो । 

प्रतियोगिताको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारले मधेशका अति लोकप्रिय खेलको रुपमा रहेको कबड्डी तथा क्रिकेट सहितका अन्य खेलकुदको विकासका लागि पूर्वाधारको निर्माणका साथै खेलाडीलाई प्रशिक्षण तथा सहितको सुविधा प्रदान गर्नका लागि बजेट विनियोजन गरेको बताउनु भयो । 

उहाँले खेल र खेलाडीले मेहनत गरेर अन्तर्राष्ट्रिय स्तरमा पाउने सफलताले देशको गौरव बढाउने भएकाले प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको बताउनु भयो । 

मुख्यमन्त्री सिंहले पछिल्लो केही समय यता फेरि पनि मधेशका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरिरहेको सफलताले प्रदेशको गौरव बढाउने काम गरेकाले खेलाडीको सम्मानका लागि पनि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो । 

अध्यक्षको आसनबाट मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले मधेशमा खेलकुदको वातावरण बन्दै गएकोमा खुशी व्यक्त गर्दै प्रदेश सरकारले अगामी आर्थिक वर्षमा खेलौँ मधेश जितौँ मधेश जस्ता कार्यक्रमहरू ल्याएको बताउनु भयो ।  

प्रतियोगितामा मधेश प्रदेश अतिरिक्त कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूर पश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रथम मुख्यमन्त्री अन्तर–प्रदेश प्रतियोगितामा सात प्रदेशका गरेर ८४ जना खेलाडी तथा अफिसियल, निर्णायक र अन्य गरेर ५२ जना गरेर करिब १ सय ३६ जनाको सहभागिता रहेको छ ।  

कबड्डी प्रतियोगिताको हब मानिने मधेश प्रदेशमा प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा पहिलो पटके प्रतियोगितामा विजयी टिमलाई २५ हजार नगद, पदक, प्रमाणपत्र तथा शिल्ड रहेको प्रदान गरिने भएको छ ।  

द्वितीय हुने टिमलाई २० हजार नगद, पदक, प्रमाणपत्र, शिल्ड तथा तृतीय हुनेलाई १५ हजार नगद, पदक, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिने भएको छ । यसका साथै खेलाडीहरूलाई दैनिक रुपमा दैनिक भत्ता, भाडा, आवास तथा भोजनको व्यवस्था खेलकुद सम्बन्धि प्रदेश सरकारले बनाएको निर्देशिका अनुसार प्रदान गरिने भएको सदस्य सचिव शिवजी प्रसाद कानूले जानकारी दिनु भयो ।   

मधेश प्रदेश सरकारले कबड्डी प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा ५० लाख रकम विनियोजन गरेको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यता अनुसार म्याटमा खेलाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button