तपाईँ सुन्दै हुनुहुन्छः

कोशी कटानले बस्ती जोखिममा, प्रदेश मन्त्रीद्वारा स्थलगत अनुगमन 

उदयपुर । देशकै ठुलो नदी सप्तकोशीले सिङ्गो बस्ती नै जोखिम बनाउन थालेको वर्षौँ भयो तर कोशी कटानको दीर्घकालीन समस्या समाधान गर्न नसक्दा उदयपुरको बेलका नगरपालिका २, ३, ८ र ९ त्यसै गरि सुनसरीको वराहक्षेत्र नगरपालिकाका हजारौँ गाउँ बस्तीहरू बाढीको उच्चा जोखिममा परिरहेका छन् । 

वर्षौँ देखी सप्तकोशीको कटानबाट सिङ्गो बस्ती नै जोखिममा परिरहँदा उदयपुरको बेलका नगरपालिकाका विभिन्न वडाका स्थानीयले तत्काल दीर्घकालीन समस्या समाधान हुने गरि तटबाँध निर्माण गर्न माग गरेका छन् । 

स्थानीय बाढी प्रभावित क्षेत्रका बासिन्दाले टेकबहादुर भट्टराईको संयोजनमा सप्तकोशी कटान नियन्त्रण तथा स्रोत सङ्कलन समिति नै बनाएर उदयपुरका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसमक्ष समेत ज्ञापनपत्र बुझाएर कोशी कटान नियन्त्रणका लागि तत्काल तटबाँध निर्माणको काम सुरु गर्न माग गरेका छन् । उनीहरूले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समेत भेटेर आफूहरूको समस्या समाधानका लागि सहयोग गरिदिन माग गरेका छन् ।

सप्तकोशीको कटान नियन्त्रण गर्न कोशी बक्राहा नदी नियन्त्रण आयोजना कार्यालय विराटनगरबाट दुई महिना पहिले मात्रै दुई करोड ३२ लाख रुपैयाँमा एक वर्षभित्रमा कार्य सम्पन्न गर्ने गरी करिब १५ हजार घनमिटर बिगबोल्डर लगाउने ठेक्का सम्झौता भएको थियो तर असार १ बाट नदीजन्य वस्तु निकाल्न नपाइने कानुनी प्रावधान भएका कारण ठेकेदार कम्पनीले अबको तीन महिना पछिबाट मात्रै काम सुरु गर्ने बताएपछि अहिले सो क्षेत्रका बासिन्दामा त्राहिमाम भएका छन् ।

बिहीबार कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले कोशी कटान क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ । मन्त्री कार्कीले कोशी बक्राहा नदी नियन्त्रण आयोजना कार्यालय विराटनगरबाट ठेक्का लगाइएको काम किन समयमा सुरु भएन उक्त विषयको खोजी गरिने भन्दै ठेक्का प्राप्त गर्ने कम्पनीलाई तत्काल कुनै विकल्प सहित काम सुरु गराएर जोखिम न्यूनीकरण गराउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । मन्त्री कार्कीले आफु मुख्यमन्त्रीको निर्देशन पछि कोशी कटान क्षेत्रको अवलोकन गर्न आएको बताउँदै जनताको भावनालाई सम्बोधन गर्दै कटानको जोखिम न्यूनीकरणको सबैखाले प्रयास गरिने समेत बताउनु भयो । उहाँले तत्काल संघीय सरकारको समेत ध्यानाकर्षण गराएर के गर्न सकिन्छ सोही कार्य गरेर जनतालाई जोखिम हुन नदिने समेत बताउनु भयो ।

कोशी ब्यारेज सम्झौता अनुसार भारत सरकारले बाँध निर्माण नगर्दा नेपाली भूभाग बर्सेनि कटान र डुबानमा पर्दै आएको छ । चतरादेखि भीमनगर स्थित ब्यारेज सम्म सप्तकोशीको दुवै किनारा भारत सरकारले तटबन्ध निर्माण गर्ने सम्झौता भए पनि सो अनुसार काम नभएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताउनुभयो ।

भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र नेपालका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाबीच सिँचाइ, यातायातको विकास गर्ने उद्देश्यले सन् १९५४ अप्रिल २५ मा कोशी सम्झौता भएको हो । वर्षायाममा सप्तकोशी नदीमा पानीको बहाब एक सेकेन्डमै २६ अर्ब घन सेन्टिमिटरसम्म पुग्ने गरेको छ ।

पछिल्लो समय सप्तकोशी नदीले धार परिवर्तन गरी उदयपुर जिल्लाको बेलका नगरपालिका–८, सोमबारे स्थित लाहुरेखोँचमा तीव्र रूपमा कटान गरिरहेको छ । यसअघि नै पटक पटक कोशीको भँगालो गाउँ पसेको स्थानमा निर्माण गरिएको बाँधबाट पुनः कोशी पस्न लागेकाले तत्काल नियन्त्रणको पहल गरिदिन स्थानीयले विभिन्न सरोकारवाला निकायसँग आग्रह गर्दै कटान नियन्त्रण गरिदिन माग गरिरहेका छन् । यद्यपि कोशी कटानको दीर्घकालीन समस्या समाधान भने हुन सकेको छैन । 

उदयपुर र सुनसरीको बिच भएर बग्ने सप्तकोशी नदीले धार परिवर्तन गरेर पश्चिमतर्फ कटान तीव्र पार्दा उदयपुरको बेलका नगरपालिका र सुनसरीको वराहक्षेत्र नगरपालिकाका केही भूभागका दर्जनभन्दा बढी बस्तीहरू अहिले उच्च जोखिममा छन् । तीन वर्षअघि आएको सप्तकोशीको बाढीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गरेपछि बेलका नगरपालिका–२, ३, ८ र ९ तथा वराहक्षेत्र नगरपालिका–६ का बस्तीहरू उच्च जोखिममा छन् । 

नेकपा एमालेका बेलका नगर कमिटीका अध्यक्ष हिराजंग राईले नगरपालिकाले कोशी कटान रोकथाममा चासो नदिएपछि आफूहरू बाध्य भएर प्रमुख जिल्ला अधिकारी र कोशी प्रदेश सरकारकोमा ध्यानाकर्षण गराउन पुग्नु परेको बताउनु भयो । नगर अध्यक्ष राईका अनुसार अहिले नै रोकथामका केही उपाय नगरे कोशी नदीले बहाव परिवर्तन गरि पश्चिम तर्फ लाग्ने र पश्चिम तर्फ रहेको बिसौँ हजार जनता विस्थापित हुनुका साथै सयौँ हेक्टर खेती योग्य जमिन बगरमा परिणत हुने निश्चित जस्तै रहेको बताउनु भयो ।  

सप्तकोशीले उदयपुरको बेलका नगरपालिका–८ को लाहुरेखोँचमा कटान गरी नदी पस्न लागेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरीटप्पु, चिलियाटप्पु, एबिसी, श्रीलङ्का टप्पु, रामनगर, बोची, भागलपुर, बानडाँडा र कोशीटप्पु आरक्षका करिब चार हजार घरपरिवार बाढीको उच्च जोखिममा परेको स्थानीय बासिन्दा सुशील सेढाईले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button