तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानीलाई उच्च प्राथमिकता, दुई वर्षभित्र सबै बस्तीमा पहुँच पुर्‍याउने खजुराको लक्ष्य

बाँके।खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक ‘तुफान’ले आगामी दुई वर्षभित्र गाउँपालिकाका सबै बस्तीमा सुरक्षित र स्वच्छ खानेपानी पुर्‍याउने प्रतिबद्धता जनाउनुभएको छ।

बिहीबार खजुरामा आयोजित सरसफाई तथा फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष विकले आगामी आर्थिक वर्ष २०८२/८३ र ०८३/८४ का लागि खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने जानकारी दिनुभयो।

“नागरिकलाई सुरक्षित र शुद्ध खानेपानी उपलब्ध गराउनु मेरो मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो, “स्थानीय तह र उपभोक्ताको सहलगानीमा एकीकृत खानेपानी आयोजना सञ्चालन गर्छौं।”

अध्यक्ष विकका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र लुम्बिनी प्रदेश सरकारको वास कार्यविधि, २०७६ को व्यवस्था अनुसार गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधि २०८१ निर्माण गरिसकेको छ। चालु वर्षमा ३४ लाख बजेट विनियोजन भए पनि अपेक्षित नतिजा प्राप्त नभएकाले आगामी वर्षमा विशेष बजेट व्यवस्था गरिने बताउनुभयो।

कार्यक्रममा उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, लेखा अधिकृत प्रदीप सुनार, अध्यक्षका स्वकीय सचिव प्रदीप विक लगायतको उपस्थिति थियो। सरसफाई शाखा प्रमुख बलराम सिग्देलले सहजीकरण गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button