राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा विशेष समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद शारदा देवी भट्टले महिलामाथि हुने कु–प्रथा र हिंसाको विरोध गर्दै महिला अधिकारको सुनिश्चिततामा जोड दिनुभयो ।
सांसद नरबहादुर बिष्टले विपद् न्यूनीकरण, सडक विस्तार र निर्माण तथा जलविद्युत व्यवस्थापनमा कमजोरी देखिएकाले त्यसमा सुधारको आवश्यकता औँल्याउनुभयो ।
सांसद किरणबाबु श्रेष्ठले कर्णाली प्रदेशको दैलेखमा नेपाललाई ५० वर्षसम्म पुग्ने प्राकृतिक मिथेन ग्यासको भण्डार पत्ता लागेकोले व्यावसायिक रूपमा सदुपयोग गर्न सकेमा हरेक नेपालीको चुलो चुलोमा ग्यास पुग्ने र ग्यास आयात गर्नु नपर्ने बताउनुभयो ।
सांसद डा. बेदुराम भुसालले उखु किसानलाई दिइँदै आएको अनुदान रोकिएकोमा आपत्ति जनाउँदै सरकार किसान भन्दा बढी व्यापारीहरूको पक्षमा रहेको टिप्पणी गर्नुभयो ।
सांसद मोहमद खालिदले इजरायल–इरान युद्धका कारण त्यहाँ भएका नेपालीहरूको उद्धार कार्यमा सरकारको ध्यान आकर्षण गर्नुभयो ।
यसअघि बैठकको शून्य समयमा सांसदहरूले इरान–इजरायल युद्ध सन्दर्भमा विश्व शान्तिको पहल आवश्यक रहेको र डेंगी रोकथाममा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
सांसदहरूले यातायात सहज बनाउन राजमार्ग लगायत सडकहरूको सुधार, प्रहरी जनशक्ति मापदण्डअनुसार कम भएकोले जनताको सेवामा प्रभाव परेको र काठमाडौँमा मेलम्ची खानेपानीको व्यवस्थापनमा जोड दिनुपर्ने जस्ता विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठक जारी छ ।
प्रतिक्रिया राख्नुहोस्