प्रतिनिधिसभा बैठक: विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक–२०८२ अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथि छलफल भएको छ ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल भएको हो ।
छलफलमा खर्च कटौतीको प्रस्ताव राख्नुहुँदै नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले आवश्यकता र औचित्यका आधारमा बजेट बिनियोजन हुन नसक्दा निर्माणाधीन बहुवर्षीय आयोजनाहरूले पर्याप्त बजेट पाउन नसकेको बताउनुभयो ।
यस्तै, खर्च कटौतीको प्रस्तावमा सांसदहरू अमरेश कुमार सिंह, रामकुमार राई, देवेन्द्र पौडेल, प्रेम सुवाल लगायतले विभागीय मन्त्री र पहुँचवाला नेताको प्रभावमा बजेट विनियोजन गरिँदा बजेटको कार्यान्वयनमा समेत शङ्का बढाएको भन्दै सच्याउन आग्रह गर्नुभयो ।
यस्तै, विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिने सांसदहरुले नागरिकको जनजीविकामा प्रत्यक्ष प्रभाव पार्ने पूर्वाधारका आयोजनाहरूमा बजेट अभाव नहुनेगरी विनियोजन गर्नुपर्ने, रणनीतिक महत्वका बहुबर्षीय आयोजनाहरूमा आवश्यकता अनुसार नियमित रुपमा बजेट सुनिश्चित गर्नुपर्ने र बजेट विनियोजनमा संसद् र सांसदहरूको राय सल्लाह समेट्नुपर्ने माग गर्नुभयो ।
यस्तै, सांसदहरुले देशका सबै क्षेत्रको समानुपातिक विकासमा योगदान पुर्याउने योजनाहरूलाई बजेट विनियोजन गर्दा प्राथमिकता दिनुपर्ने, कर्णाली र दुर्गम हिमाली क्षेत्रका जनताको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्ने, ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवद्र्धन गरी नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्नेमा समेत ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गतको विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथि छलफल भइरहँदा विभागीय मन्त्री अनुपस्थित रहेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
बैठकमा सांसद पूर्णबहादुर तामाङले बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको बजेटका विभिन्न शीर्षकहरूमाथि छलफल भइरहँदा विभागीय मन्त्री अनुपस्थित रहेको भन्दै मन्त्री उपस्थित नहुँदासम्म रोष्ट्रम नछाड्ने बताएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।
यसअघि आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूको विरोध कायमै रहेका कारण सभामुख देवराज घिमिरेले संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गर्नुभयो ।
सभामुख घिमिरेले प्रतिपक्षी दलहरूले नियमित उठाउँदै आएको विषयमा जानकारी रहेको र आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको हुँदा कार्यक्रमलाई सहज रुपमा अगाडी बढ्ने वातावरण बनाइदिन पटक पटक आग्रह गरेपनि रास्वपाका सांसदहरुले अवरोध जारी राख्नुभएको थियो ।
त्यसपछि बैठकमा विनियोजन विधेयक माथिको छलफल अगाडी बढाउने विषयमा सभामुख घिमिरेले कार्यसूचीमा प्रवेश गर्ने बित्तिकै नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले नियमापत्ति गर्दै कार्यसूची अनुसार सम्बन्धित मन्त्रीहरू बैठकमा उपस्थित नभएका कारण छलफल अगाडी बढाउन नमिल्ने बताउनुभयो ।
यस्तै, सांसद डा.अमरेशकुमार सिंहले पनि मन्त्री उपस्थित नभएको विषयमा सभाको ध्यानाकर्षण गराउनुभयो ।
त्यसपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई महत्व नदिएको र मन्त्रीको उपस्थिति नहुँदा बारम्बार सदनबाट कार्यसूची आउने र हटाइने गरेको बताउनुभयो ।
उहाँले कार्यसूची अनुसार सम्बन्धित सबै मन्त्रीहरू उपस्थित नरहेको भन्दै मन्त्रीको उपस्थिति बिना कार्यसूची अगाडी बढ्न नसक्ने तथा नियमावली सांसद र मन्त्री सबैले पालना गर्नुपर्ने बताउनुभयो ।
त्यसपछि सभामुख घिमिरेले मन्त्री उपस्थित नभएका युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्बन्धित विषय कार्यसूचीबाट हटाउनुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक भोली असार ७ गते बिहान ११ः०० बजे बस्ने छ ।
प्रतिक्रिया राख्नुहोस्