लोपोन्मुख सुरेल जाती सम्बन्धि फोटो पुस्तक प्रकाशन
दोलखा । लोपोन्मुख सुरेल जातिको विगत र वर्तमान झल्कने फोटो पुस्तक ‘सुरेलका रङ्गहरू’ प्रकाशन गरिएको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ५ सुरीमा मात्र रहेको लोपोन्मुख सुरेल जातिसम्बन्धी फोटो पुस्तक ‘सुरेलका रङ्गहरू’को प्रकाशन गौरीशङ्कर गाउँपालिकाले गरेको हो ।
नेपाल र नेपालीले गौरव गर्ने विषय भनेकै फरक पहिचान, भाषा, लिपि र संस्कार– संस्कृति सहितको विभिन्न जातजाति नै हो, गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले भन्नु भयो– हाम्रो पालिकामा लोपोन्मुख सुरेल जातिको वासस्थान छ भन्दा खुशी लाग्छ ।

आफ्नो पालिकामा रहेको लोपोन्मुख सुरेल जातिको विषयमा पछिल्ला पुस्ताहरूले पनि सहजै जानकारी लिन सकुन भन्ने उद्देश्यले उनीहरूको सम्पुर्ण विषय समेटिएको फोटो पुस्तक ‘सुरेलका रङ्गहरू’ प्रकाशन गरिएको अध्यक्ष कार्कीले बताउनु भयो ।
गौरीशङ्कर गाउँपालिकाले लोपोन्मुख सुरेल जातिको फोटो पुस्तक ‘सुरेलका रङ्गहरू’ प्रकाशन गर्नु महत्वपूर्ण काम भएको गाउँपालिका उपाध्यक्ष उमा लुङ्गेली मगर बताउनु हुन्छ ।
सुरेल जातिको जनसङ्ख्या दुई सय ३१ रहेको छ । सुरेलहरूको ५० घर सुरीमा, ७ घर सुम्नामा र ३ घर खारेखोलामा रहेको सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेलको भनाई छ ।
‘सुरेलका रङ्गहरू’ फोटो पुस्तकमा उनीहरूको धर्म, संस्कृति, परम्परागत रीतिरिवाज, मठ– मन्दिर, भेषभुषा, परम्परागत पेशा आदि झल्कने फोटोहरू समावेश गरिएको पुस्तकको सम्पादक फोटो पत्रकार जीवन लामाले बताउनुभयो ।

सुरेल जाति कसरी रहन गयो भन्ने तथ्यगत प्रमाण नभएपनि एउटा किंवदन्ती भने प्रचलनमा रहेको छ । किंवदन्ती अनुसार ससुरा ज्वाइँ बासे (ससुरा) र वीरबल (ज्वाइँ) भोटबाट शिकार खेल्दै सुरी आसपास आइपुगे । सोही समय एकजना माझिको बच्चा एउटा शेर्पाले अपहरण गरेर लगेको थियो । बासे र वीरबलले शेर्पाबाट उक्त बच्चालाई मुक्त गरी माझिको जिम्मा लगाई दिए ।
ससुरा ज्वाइँको उक्त कार्यबाट खुशी भएका माझीहरूले ती दुईलाई सूर्यवंशी भन्दै तेरमुफ (टिम्मुर वारी) दिएर बस्ने व्यवस्था गरे । उनीहरू माझीहरूसँगै बसेकै बेला कोठामा थुनेर राखेको एउटा माझिको छोरी गर्भवती भईन । उक्त गर्भ सूर्यबंशीहरु बाटै रहन गएको माझीहरूले आरोप लगाए । यसरी माझी र सूर्यवंशीको गर्भबाट भएको सन्तान सुरेल भए ।
सुरेल जातिको उत्थान र संरक्षणको लागि गौरीशङ्कर गाउँपालिकाले फोटो पुस्तक ‘सुरेलका रङ्गहरू’ प्रकाशनसँगै सुरेल भाषाको स्थानीय पाठ्यक्रमको अध्यापनमा लगायतमा समेत सहयोग गर्दै आएको अध्यक्ष कार्कीले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्