तपाईँ सुन्दै हुनुहुन्छः

यातायात सुविधाका नाममा वडाध्यक्षद्वारा दोहोरो सुविधा  

कास्की । पोखरा महानगरपालिकाका १२ जना वडाध्यक्षले यातायात सुविधाका नाममा रकम लिएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनमा १२ जना वडाध्यक्षले दोहोरो सुविधा लिएको जनाइएको छ ।

प्रतिवेदनमा उक्त सुविधालाई अनियमितता र गैरकानुनी कार्य भएको उल्लेख गरिएको छ । महालेखाको प्रतिवेदनमा वडाध्यक्षहरूले यातायात सुविधाको नाममा मासिक रकम लिँदै आएका हुन् ।

गण्डकी प्रदेश सदस्यले पाउने सुविधासम्बन्धी ऐन, २०७६ को दफा ४ को उपदफा ३ मा कुनै वडा अध्यक्षले यातायात सुविधाबापत सवारीसाधन वा इन्धन सुविधा पाएको भए यातायात सुविधाबापतको रकम नपाउने व्यवस्था छ ।

तर, महानगरपालिकाका १२ वडाध्यक्षले भने सवारीसाधनको सुविधा पाएको अवस्थामा पनि यातायात सुविधाबापत मासिक एक हजार ५०० रुपैयाँ लिएको खुलेको हो ।

उनीहरूले वार्षिक १८ हजार रुपैयाँका दरले लिएको एक लाख ८७ हजार ५०० रुपैयाँ असुल गर्न महालेखाले भनेको छ ।

सुविधा लिनेमा वडा नं ८ का अध्यक्ष रुद्रनाथ बराल, ९ का दिपेन्द्र मर्सानी, १० का राजेश गुरुङ, १४ का बोधबहादुर कार्की, १७ की राधिकाकुमारी शाही, २० का गङ्गाबहादुर खत्री, २१ का दीपकप्रसाद सुवेदी, २३ का रामकाजी गुरुङ, २४ का भरतबहादुर अधिकारी, ३२ का अक्कलबहादुर कार्की र ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button