तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा दुई युवायुवती मृत फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक किशोरी र एक युवक मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अन्दाजी १४ वर्षीया मञ्जु राईको शव सडकछेउमा लडिरहेको अवस्थामा भेटिएको हो भने २८ वर्षीय रविन्द्र राईको शव घटनास्थलबाट करिब २ सय मिटर तल रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बविन राईका अनुसार शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ। घटनाको कारण अहिलेसम्म स्पष्ट भइनसकेको उहाँले बताउनुभयो।

मृतक मञ्जु राई स्थानीय सिंहदेवी माध्यमिक विद्यालय, चौदण्डीगढी–२ मा कक्षा १० मा अध्ययनरत थिइन् भने रविन्द्र राई केही दिनअघि मात्र काठमाडौंबाट घर फर्किएका थिए। उनीहरू एकअर्काका छिमेकी रहेको प्रहरीको भनाइ छ।

बुधबार बिहानै स्थानीयले सडकछेउमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोलीले घटनास्थलमा पुगेर थप खोजतलास गर्दा रविन्द्रको शव झुण्डिएको अवस्थामा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङका अनुसार घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ। “घटना कसरी भयो र के कारणले भयो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको ,” जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button