तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट फर्किनेमा संक्रमण देखिएपछि नेपालगन्ज नाकामा कोरोना परीक्षण सुरु

बाँके। छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका जमुनाहामा कोरोना परीक्षण सुरु गरिएको छ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठका अनुसार भारतबाट फर्किने नेपालीहरूमा संक्रमण देखिन थालेपछि जमुनाह नाकामा शंकास्पद व्यक्तिको परीक्षण थालिएको हो। परीक्षणको क्रममा भारतको देहरादुनबाट आएका बर्दियाका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिनु भयो ।

श्रेष्ठका अनुसार ती युवकको आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। यद्यपि, ती युवकमा कुनै लक्षण देखिएको छैन। लक्षण देखिएमा भेरी अस्पतालमा लगेर पीसीआर परीक्षण गरिने व्यवस्था गरिएको श्रेष्ठले बताउनु भयो।

संक्रमण पुष्टि भएका ती युवकलाई मास्कसहित होम आइसोलेसनमा पठाइएको छ। भारतमा पुनः संक्रमण बढ्न थालेको सन्दर्भमा नेपालगन्ज नाकामा सतर्कता अपनाउँदै नियमित परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button