तपाईँ सुन्दै हुनुहुन्छः

राजापुर–८ मा पढ्दै कमाउँदै र सिक्दै कमाउँदै कार्यक्रम : विद्यार्थी र महिलालाई स्वरोजगारको बाटो

बर्दिया । राजापुर नगरपालिका–८ ले विद्यालय तहदेखि नै विद्यार्थीलाई आम्दानी गर्न सिकाउने उद्देश्यले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सुरु गरेको छ।

वडाले भेरी माध्यमिक विद्यालय ललितापुरका कक्षा १० का २७ जना विद्यार्थीलाई जनही आठवटा हाँसका चल्ला र ५० किलो दाना वितरण गरेको छ। वडासचिव सिर्जना अधिकारीका अनुसार यो कार्यक्रम आर्थिक वर्ष २०८१/८२ को योजना अन्तर्गत ५० हजार रुपैयाँको लागतमा सञ्चालन गरिएको हो।

‘पढ्दै कमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। वडाध्यक्ष राजेस थारुले हाँसबाट अण्डा बिक्री गरी विद्यार्थीहरूले पढाइ खर्च जुटाउने विश्वास व्यक्त गर्नुभयाे। उहाँका अनुसार एउटा हाँसले वर्षमा ३६० भन्दा बढी अण्डा दिन्छ।

विद्यालयका प्रधानाध्यापक केशव कोइरालाले यो कार्यक्रम राजापुर नगरपालिकामै पहिलो भएको बताउँदै आगामी दिनमा थप योजना आवश्यक रहेको धारणा राख्नुभयाे । यसअघि यही विद्यालयका विद्यार्थीले लसुन खेती गरेका थिए।

त्यस्तै, वडाले विद्यालय छाडेका वा बेरोजगार युवालाई लक्षित गरी ‘सिक्दै कमाउँदै’ कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। यस अन्तर्गत बेत र बाँसका सामग्री उत्पादन तथा बजारीकरणका लागि तालिम, उपकरण र बिक्री सहयोग प्रदान गरिएको वडाध्यक्ष थारुले जानकारी दिनुभयाे।

स्थानीय महिला निर्मला चौधरीले वडाको सहकार्यमा थाकलको पातबाट झोला, टोपी, गमला, फूल आदिको उत्पादन गर्दै मासिक २० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गरिरहेकी छन्।  ३१ वर्षीया निलम थारुले पनि निर्मलासँगै तालिम लिएर सामान उत्पादन गरिरहनुभएकाे छ । उहाँ अहिले नेपालगञ्जका व्यापारीसँग सम्झौता गरेर मासिक १५ हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेकी छन् । उहाँहरु जस्तै अरु २० जना महिलाअहिले स्वरोजगारमा लागेका छन्।

थारू महिला उत्थान केन्द्रको सहकार्यमा सञ्चालन भएको तालिमबाट निर्मला र निलम थारु जस्ता महिलाहरूले आधुनिक बजारसँग परम्परागत सीप जोड्न सफल भएका छन्। केन्द्रकी कार्यकारी निर्देशक प्रिजमा सिंहले समुदाय स्तरमा उद्यमशीलता बढाउने योजना रहेको बताउनुभयाे।

राजापुर–८ ले विद्यार्थीदेखि महिलासम्मलाई आत्मनिर्भर बनाउने अभियान चलाउँदै आएको छ। वडाले उत्पादनका सामग्रीको बजारीकरणमा सहजीकरण गरिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button