सम्झनामा गणेश रसिक श्रद्धाञ्जली सभा सम्पन्न

इलाम । वरिष्ठ साहित्यकार गायक सङ्गीतकार गणेश रसिकलाई इलामेलीले आज एक कार्यक्रमका बिच श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपाली साहित्य कला सङ्गीत क्षेत्रमा गणेश रसिकले पुर्याउनु भएको योगदानको स्मरण गर्दै उहाँको कालजयी गीतहरू समेत प्रस्तुत गरिएको छ । २०६४ सालमा उहाँले नै स्थापना गर्नुभएको रेडियो फिक्कल र उहाँकै नाममा रहेको गणेश रसिक फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा सहभागीले उहाँ भौतिक रूपमा हामी माझ नरहनु भएपनि उहाँको गीत सङ्गीत कला साहित्य समाजसेवा मार्फत उहाँले दिनुभएको योगदान चिरकाल सम्म अमर रहने बताएका छन् ।
श्रद्धाञ्जली सभामा उहाँ सँग नजिक रहेर सहकार्य गरेका तथा उहाँका सृजना मार्फत उहाँलाई चिनेका विभिन्न व्यक्तिहरूले आफ्नो धारणा राख्दै साहित्य सङ्गीत गायन तीनै विद्यामा दखल राख्ने र तिनै विद्यामा उच्च कृति दिने सर्जक नेपालमै थोरै मात्र रहेको बताएका छन् । सहभागीहरूले उहाँको निधनले नेपालको कला साहित्यको दर्बिलो खम्बा ढलेको र उहाँको निधनले नेपालले एक बहुमुखी प्रतिभाका धनी सर्जक गुमाउन पर्दा अपुरणीय क्षति भएको बताएका छन् ।
अबका दिनमा उहाँको सपना पुरा गर्न तीन तहको सरकार उहाँका शुभचिन्तक कला साहित्यका पारखी सबै पक्ष एक भएर लाग्नु पर्ने बताउँदै रसिक उहाँका सृजना मार्फत सधैँ अमर रहने बताएका छन् भने उहाँका अधुरा सपना पुरा गर्न सबै लाग्ने सहभागीहरूको प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा सूर्योदय नगरपालिका प्रमुख रण बहादुर राई संविधान सभा सदस्य सूर्यबाला राई रसिककी छोरी निर्जा रसिक राई, भान्जी प्रणिका कोयु लगायत उहाँका सङ्गीत साहित्यका पारखी नेपाल भारतका सयौँ शुभचिन्तकहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कार्यक्रममा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बराल ,जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली ,कवि बिमल वैद्य कवि कुल प्रसाद ढकाल, पत्रकार केदार शर्मा, चलचित्र निर्देशक कैलाश राई, उद्योगी उदय चापागाईँ, गायक कोमल निरौला, कवि भुवनराज ढुङ्गाना, रसिकका भान्जी प्रणिका कोयु , गायक कुवेर राई लगायतले उहाँको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।
कलाकारहरूले रसिककै गीत गाएर उहाँ प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । कलाकारहरू पुजन प्रधान, कमल अर्याल भुपेन्द्र राई , गायत्रा ओली , कृतिका राई ,भूपेन्द्र राई ,किरण योन्जन ,आश्विन प्रधान बृष प्रधान, रगुन गुरुङ, राजेश चाम्लिङ, अर्पणा राई ,जय राई, लेखु मुखिया लगायतले उहाँको गीत प्रस्तुत गरेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
२००४ साल असोज ४ गते भोजपुर छिनामखुमा जन्मनु भएका गणेश रसिकको गत २०८२ साल जेठ १८ गते हरिसिद्धि क्यान्सर हस्पिटल ललितपुरमा दुखद स्वर्गारोहण भयो ।
करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आएका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, कथाकार निबन्धकार र नियात्राकारका रुपमा आफ्नो दर्बिलो परिचय बनाउनु भएको छ । उहाँका सारङ्गीभित्र कथासङ्ग्रह, गणेश रसिकका गीतहरू, आकाश गङ्गाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरू टेक्दै हिँडे पछिल्लो पटक ५ कृतिको सगांलो पेरुङ्गो लगायत कथा, कविता, निबन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी कृति सयौँ कालजयी गीतहरू हामी माझ छोडेर जानु भएको छ ।
रेडियो फिक्कलका संस्थापक अध्यक्ष सर्जक रसिकले रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको जिम्मेवारी लगायत अरू धेरै जिम्मेवारीहरूमा रहेर नेपाललाई योगदान दिनुभएको छ ।
१४ असोज ०८१ मा रसिकको नाममा संग्रहित ‘गणेश रसिकःअभ्यर्थना ग्रन्थ’ काठमाडौँमा एक कार्यक्रम आयोजना गरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्