तपाईँ सुन्दै हुनुहुन्छः

मधेस टुरिज्म मिट–२०२५ सम्पन्न: पर्यटन प्रवद्र्धनमा सरकारको नजर नपरेको गुनासो

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगन्ज तथा पर्सामा पर्यटकीय सम्भावना बोकेका अनेकौँ सम्पदाहरू रहेपनि सरकारको नजर नपरेको भन्दै गुनासो व्यक्त गर्नुभएको  छ । 

नेपाल पर्यटन बोर्डले वीरगन्जमा आयोजना गरेको ‘मधेस टुरिज्म मिट–२०२५’ लाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले वीरगन्ज र यस आसपासका क्षेत्रमा धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरू प्रशस्तै रहेको भएपनि त्यसमा सरकार र पर्यटन बोर्डको नजर अझैसम्म पर्न नसकेको गुनासो गर्नभयो ।

१ सय ३७ वर्ष पुरानो नेपालको एक मात्र नृसिंह भगवानको मन्दिर वीरगन्जमा रहेको बताउँदै उहाँले यस क्षेत्रभित्रै ऐतिहासिक पशुपतिनाथ मन्दिर पनि रहेको बताउनुभयो । वन्यजन्तु सफारीको उपयुक्त गन्तव्य पर्सा राष्ट्रिय निकुञ्ज पनि यस क्षेत्रमा रहेको तर यस्ता महत्वपूर्ण धार्मिक एवं पर्यटकीय सम्पदाहरूमाथि पनि पर्यटन बोर्डको नजर अझै पर्न सकेको भन्दै उहाँले गुनासो गर्नुभयो ।

पर्यटन बोर्डको नजर र चासो केवल काठमाडौँ, पोखरा र चितवनमा मात्रै सीमित रहेको गुनासो गर्दै नगरप्रमुख सिंहले मधेस प्रदेशमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र गन्तव्यहरू रहेको र त्यहाँ भारतीयसहित विदेशी पर्यटकलाई आकर्षण गर्न सकेको खण्डमा प्रदेशकै पर्यटन व्यवसायले फड्को मार्ने बताउनुभयो ।

उहाँले वीरगन्ज महानगरपालिकाले यहाँ रहेका धार्मिक एवं पर्यटकीय सम्पदाहरूको जगेर्ना गरेर आफ्नो साधन श्रोतले भ्याएसम्म प्रचार प्रसार गरिरहेको जानकारी दिनुभयो । 

कार्यक्रममा पर्साको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र भएपनि संघ र प्रदेश सरकारले लगानी नगर्दा ओझेलमा परेको गुनासो गर्नभयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले मधेसमा पर्यटकीय सम्भावना बढी भएकाले सबैले हातेमालो गरेर पर्यटन प्रवद्र्धनमा जुट्नुपर्ने बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले मधेस प्रदेशलाई भारतीय पर्यटकको गन्तव्यका रूपमा विस्तार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

टुरिजम एसोसिएसन बिहार भारतका अध्यक्ष एसके शर्माले नेपाल र भारतबीच ऐतिहासिक र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले दुवै मुलुकले एकआपसमा समन्वय गरेर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button