तपाईँ सुन्दै हुनुहुन्छः

झन्डै एक दशकदेखि साङ्लोमा बाँधिएका पबिन्द्रको उद्धार

उदयपुर।उदयपुरको चौदण्डीगढी नगरपालिका–३ भोर्लेनीका पबिन्द्र मगरको झन्डै एक दशकपछि उद्धार गरिएको छ। मानसिक समस्याका कारण साङ्लोमा बाँधिएर बस्न बाध्य पबिन्द्रलाई चौदण्डीगढी नगरपालिकाले मानवसेवा आश्रम बिराटनगरको समन्वयमा उद्धार गरेको हो।

सामान्य मजदुरी गर्दै आएका पबिन्द्रलाई करिब १० वर्षअघि मानसिक समस्या देखा परेपछि धामीझाँक्री र औषधोपचार गरिए पनि सुधार नआएपछि उनलाई घरमै साङ्लोमा बाँधेर राखिएको थियो। उनका आमा एकमाया मगरले धेरै वर्षदेखि एकल प्रयासमा पबिन्द्रको स्याहार गर्दै आएकी थिइन्।

वडा सदस्य परशुराम राईका अनुसार प्रारम्भमा धामीझाँक्री तथा चिकित्सकीय उपचार गरिए पनि पबिन्द्रमा सुधार नआएपछि उनलाई बाँधेर राख्नु परेको थियो। मानसिक अवस्था अस्थिर हुँदा उनी घर छोड्ने र हराउने गरेका कारण बाध्यतामा साङ्लोमा राखिएको एकमायाको भनाइ छ।

यसअघि पनि चौदण्डीगढी नगरपालिकाले वडा नं. २ का शिवराज विश्वकर्माको उद्धार गरी उपचार गरेको थियो। अहिले उनी सामान्य जीवनयापन गरिरहेका छन्।

नगर प्रमुख कालुमान लामाले पबिन्द्रलाई पनि शिवराज जस्तै सामान्य जीवनमा फर्काउन सकिने विश्वास व्यक्त गर्दै, उद्धार सफल भएकोमा खुशी व्यक्त गरे। मानवसेवा आश्रमका नवराज के.सी.का अनुसार पबिन्द्रको उपचार विशेषज्ञ चिकित्सकको निगरानीमा आश्रममा गरिनेछ।

मानवसेवा आश्रमले पछिल्लो समय उदयपुरलगायत विभिन्न पालिकामा पुगेर मानसिक समस्या भएका व्यक्तिको उद्धार र उपचार गर्दै आएको छ। संस्था “सडक मानव रहित नेपाल” बनाउने लक्ष्यसहित कार्यरत रहेको के.सी.ले जानकारी दिनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button