तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ । सङ्घीय संसद् सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एकजना न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।

समितिको आजको बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा तथा न्याय परिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको हो ।

समितिले उहाँहरूका विषयमा कुनै उजुरी वा गुनासो भए १० दिनभित्र समितिमा पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्ता उजुरी सोझै सचिवालय वा इमेलबाट पठाउन सकिने व्यवस्था रहेको सभापति न्यौपानेले बताउनुभयो । उहाँका अनुसार त्यसपछि संसदीय सुनुवाइ समितिले प्राप्त उजुरीबारे उजुरीकर्तासँग पुस्ट्याइँका लागि जानकारी लिने र प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ गर्नेछ ।

त्यस क्रममा प्रस्तावित व्यक्तिले आफ्नो कार्य योजना, सोच र अवधारणा  प्रस्तुत गर्नुहुनेछ । उहाँहरूले प्रस्तुत गर्नुभएको अवधारणाबारे समितिले ठिक  ठहर्‍याएमा नाम अनुमोदन हुने र नियुक्तिको बाटो खुल्नेछ ।

न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी असार १० देखि रिक्त हुने न्यायपरिषद् सदस्य नियुक्तिका लागि नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि संसद् सचिवालयलाई पत्र पठाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button