ओखलढुङ्गामा तिम्ल्याहा शिशुको जन्म
ओखलढुङ्गा । ओखलढुङ्गाकी एक महिलाले एकै पटक तीनवटा बच्चा जन्माउनुभएको छ । जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेका उत्तर तामाङकी श्रीमती ३२ वर्षिया हिरा तामाङले शुक्रबार ओखलढुङ्गा सामुदायिक अस्पतालमा तीन छोरीलाई जन्म दिनुभएको हो ।

बिहीबार प्रसव व्यथा लागेर अस्पताल भर्ना हुनुभएकी तामाङले शुक्रबार बिहान १०:४० देखि १०:४२ सम्म तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा.रोशन खरेलले जानकारी दिनुभयो । निर्देशक डा. खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरी हिराका छोरीहरूलाई जन्म गराएका हुन् ।

तीन जनामध्ये पहिलो छोरीको तौल १९ सय ग्राम, दोस्रो छोरीको २२ सय ग्राम र तेस्रो छोरीको तौल २३ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।
३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशुहरू र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको ओखलढुङ्गा सामुदायिक अस्पतालले जनाएको छ । उत्तर र हिरा दम्पतीका एक ७ वर्षीय छोरा छन् ।
ओखलढुङ्गामा सम्भवतः एकै पटक ३ वटा शिशु जन्मिएको यो पहिलो घटना हो ।
प्रतिक्रिया राख्नुहोस्