तपाईँ सुन्दै हुनुहुन्छः

मकै बालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित

दैलेख । दैलेखका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् ।

सुरूमा पात खाने र बिस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि कीराका कारण निस्कन सकेका छैनन् । केही निस्किहाले भने पनि त्यो धानचमराले काम नगर्ने, घोगा नलाग्ने, पात ठुटै पारेर खानेजस्ता समस्या छ ।

जिल्लाका किसानले खेतबारीमा लगाइएको मकैमा फौजी कीराले दुःख दिने गरेको हो । फौजी कीरा नियन्त्रण नगर्ने हो भने मकै बाली सखाप परिदिने अवस्था भएको नारायण नगरपालिका ७ का स्थानीय गणेश खत्रीले जानकारी दिनुभयो ।

कृषि विकास कार्यालय दैलेखका कृषि अर्थविज्ञ झकल भण्डारीका अनुसार फौजी कीराले मकै बाली खान थालेको आफूलाई जानकारी आएपछि कृषकको माग अनुसार औषधी पठाएको बताउनुभयो । यसलाई नियन्त्रण गर्नका लागि आवश्यक पहल पालिकामा र अन्य निकायमा गरेपनि नियन्त्रणका लागि निकै समस्या रहेको कृषि अर्थ विज्ञ भण्डारीको भनाई छ ।

बैशाख जेठमा लगाएको मकैमा फौजी किराको प्रकोप देखिएको डुङ्गेश्वर गाउँपालिकाका कृषि शाखा प्रमुख विश्वविक्रम रावलले जानकारी दिनुभयो । यस्तो समस्या दैलेखका सबै स्थानीय तहमा रहेको कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरथ पाण्डेले बताउनुभयो ।

किरा लाग्यो भन्ने मकैको पात सेतो देखिने, किराको आलो दिशा पनि देखिने, मकैको गुबो कोट्याएर हेर्‍यो भने त्यहाँ किरा भेटिने, त्यो किराको पछाडि भागमा बराबर ४ वटा प्वाल देखियो भने त्यो फौजी किरा भएको र यसको रोकथामका उपाय अपनाउनु पर्ने कार्यालय प्रमुख पाण्डेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button