केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि दफावार छलफल

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि दफावार छलफल जारी छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा रहेका खानेपानी बोर्ड ऐन २०६३, सार्वजनिक खरिद ऐन २०६३ र विद्युतीय कारोबार ऐन २०६३ मा दफावार छलफल भएको हो ।
छलफलमा सांसदहरु डा वेदुराम भुषाल, सुरेश आलेमगर, मदनकुमारी शाह गरिमा, गंगा बेलवासे, डा अन्जान शाक्यलगायतले सार्वजनिक खरिद ऐनका कारण सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको भन्दै सार्वजनिक खरिद प्रक्रियालाई छिटो र सहज बनाउने गरी संशोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
बैठकमा सांसदहरुले विद्युतीय कारोबारको नयाँ पद्धति र प्रविधि भित्रिएको अवस्थामा विद्युतीय कारोबारलाई समयानुकूल बनाइनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्