तपाईँ सुन्दै हुनुहुन्छः

विकास र समृद्धिका लागि जनप्रतिनिधिहरू सिर्जनशील र दूरदर्शी हुनुपर्छ : प्रधानमन्त्री 

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि जनप्रतिनिधिहरू सिर्जनशील र दूरदर्शी हुनुपर्ने बताउनुभएको छ । 

मोरङको कटहरीमा स्थापना भएको जिवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सिङ्गो समाजलाई सङ्गठित गरी विकास निर्माणका कामलाई अगाडि बढाउन सक्ने व्यक्ति नै सही अर्थमा जनताका प्रतिनिधि हुन सक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अस्पतालले बिरामीको अनुहार आर्थिक हैसियत हेरेर भन्दा पनि बिरामीको उपचारको आवश्यकता हेरेर सेवा दिनुपर्नेमा जोड दिनुभयो । 

प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता विस्तार गर्न र मेडिकल कलेज सञ्चालन गर्न सरकारका तर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा अस्पतालका सञ्चालक एवं प्रतिनिधि सभाका सांसद योगेन्द्र मण्डलले समुदायमा रहेको गरिब विपन्न समुदायलाई सहज रुपमा गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो । 

२० विगाह क्षेत्रफलमा फैलिएको दुई सय बेड क्षमताको जिवन विकास सामुदायिक अस्पताल प्रतिनिधि सभाका सांसद योगेन्द्र मण्डलको व्यक्तिगत पहलमा स्थापना भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button