तपाईँ सुन्दै हुनुहुन्छः

योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बैतडीका कार्यालय प्रमुखहरूलाई योजनाहरू समयमै कार्यान्वयन गर्न र समग्र प्रशासनिक कामकाजमा चुस्तता ल्याउन निर्देशन दिनुभएको छ । 

जिल्लास्थित कार्यालय प्रमुखहरूसँगको बैठकमा मन्त्री भण्डारीले योजनाको ढिलासुस्तीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुहुँदै चालु आर्थिक वर्षको ११ महिनामा जिल्लाका कार्यालयहरूको कुल खर्च ५० प्रतिशतमा सीमित रहनु विकास योजनाको कमजोर कार्यान्वयन भएको बताउनुभयो ।

उहाँले साउन महिनामै बजेट उपलब्ध हुँदा पनि योजना कार्यान्वयनमा आठ÷नौ महिना ढिलाइ हुनु अत्यन्तै दुःखद भएको बताउनुभयो । 

“आर्थिक वर्षको सुरुवातमै बजेट आउँछ भने योजना कार्यान्वयनमा ढिलाइ किन हुन्छ ? यो प्रवृत्तिको अन्त्य गर्नु जरुरी छ ।” उहाँले भन्नुभयो, “सालभरि पर्खिएर अन्त्यमा हतारमा काम गर्ने प्रवृत्तिले बजेटको प्रभावकारिता घटाउनुका साथै कामको गुणस्तरमा पनि असर पारिरहेको छ ।” मन्त्री भण्डारीले यस्ता प्रवृत्तिबाट सुधार नगरे जिल्लाको विकास अपेक्षाअनुसार अगाडि बढ्न नसक्ने बताउनुभयो ।

उहाँले जिल्लाका कार्यालयहरूमा सुशासनको प्रत्याभूति हुनु आवश्यक रहेको बताउनुभयो । दायित्व सार्ने प्रवृत्तिका कारण कार्यालयहरूले आफैँले लिने जिम्मेवारीबाट पन्छिन खोज्नु दीर्घकालीन रूपमा हानिकारक हुने उहाँको भनाई छ ।

मन्त्री भण्डारीले विकासे योजनाहरूको सन्दर्भमा विगतका अधुरा जिम्मेवारी परिपूर्ति गर्न भन्दै नयाँ काममा ढिलाइ गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताउनुभयो । योजनाको समयमै गर्नुपर्ने बताउँदै उहाँले योजनाहरूको गुणस्तर र मापदण्डबिना कुनै भुक्तानी नगर्न निर्देशन दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायलाई सम्बन्धित भुक्तानी विवरणको सूची तयार पार्न र आवश्यक छानबिन गरेर मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो ।

विपद् व्यवस्थापनको सन्दर्भमा मन्त्री भण्डारीले मनसुनजन्य घटनाहरूको सम्भावित जोखिमप्रति सजग रहनुपर्नेमा जोड दिनुभयो । यस वर्ष विगतका वर्षहरूको तुलनामा बढी वर्षा हुने मौसम पूर्वानुमान रहेको भन्दै उहाँले प्रमुख जिल्ला अधिकारी उपाध्यायलाई पूर्व तयारीमा लाग्न निर्देशन दिनुभयो । 

उहाँले सम्भावित बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूबिच समन्वयकारी भूमिका खेल्न आग्रह गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी उपाध्यायले विपद् जोखिम नियन्त्रणको लागि आवश्यक पूर्व तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button