तपाईँ सुन्दै हुनुहुन्छः

महको शुद्धता कायम राख्नुपर्नेमा मन्त्री अधिकारीको जोड

स्वदेशी मह सेवन गर्न सबैमा आग्रह 

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले महमा गुणस्तर कायम गरे आयातित महले बजार खोस्न नसक्ने बताउनुभएको छ । 

छैटौँ मह मेलाको आज  काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन गर्नुहुँदै मन्त्री अधिकारीले खुल्ला बजारमा सबैले प्रतिस्पर्धा गर्न पाउने भएकाले शुद्ध मह उत्पादनलाई पहिलो प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो । 

बैङ्क तथा वित्तीय संस्थालाई मौरी किसानहरूमा पनि लगानी गर्न आग्रह गर्नुहुँदै मन्त्री अधिकारीले मौरी पालकहरूलाई देखिएको चरनको समस्यालाई समाधान गर्न पहल गर्ने पनि बताउनुभयो । उहाँले मौरी र महको प्रवर्द्धनका लागि सरकारबाट गर्न सकिने सबै सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । 

स्वास्थ्यका दृष्टिकोणबाट पनि महको नियमित सेवन फाइदाजनक रहेकाले स्वदेशी महको सेवन गरिदिन पनि सबैमा उहाँले आग्रह गर्नुभयो । मह उत्पादकहरूलाई उत्पादनमा जोड  दिन आग्रह गर्नुहुँदै मन्त्री अधिकारीले बजारको समस्या बिस्तारै हट्दै जाने वातावरण निर्माण सरकारले पनि पहल गरिरहेको छ  भन्नुभयो ।  

हाल नेपालमा  वार्षिक पाँच हजार मेट्रिकटन भन्दा बढी मह उत्पादन हुने गरेको व्यवसायीहरूले बताएका छन् । हाल सरकारले मह आयतमा रोक लगाएको छ  । यसबाट मह उत्पादन बढ्दै गएको छ भने नेपाली महको खपत पनि बढ्दै गएको छ । विगतमा भन्दा अहिले मन्त्रालयमार्फत सकारात्मक सहयोग प्राप्त भएको मौरी पालक किसान तथा मह उत्पादकहरूले बताएका छन्  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button