तपाईँ सुन्दै हुनुहुन्छः

दर्ताबिना सञ्चालनमा रहेका मेडिकल क्लिनिक बन्द

रुपन्देही । जिल्ला प्रशासन कार्यालयसहितको टोलीले गरेको अनुगमनबाट बुटवलमा दर्ताबिना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिक बन्द गरिएका छन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवल क्षेत्रका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकमा अनुगमन गर्दा ६ वटा क्लिनिक दर्ताबिना नै सञ्चालनमा रहेको भेटिएपछि बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिनुभयो ।

उहाँले जनताको गुनासो आएपछि क्लिनिकमा अनुगमन गरिएको र दर्ताबिनाका फेला परेपछि बन्द गराइएको बताउनुभयो । अनुगमन टोलीले बुटवल अस्पताल लाइनमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एन्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एन्ड फार्मेसीको कलेक्स प्रयोगशाला बन्द गराएको हो । त्यस्तै वरदान क्लिनिक प्रालि र शिला मेडिकल हलको क्लिनिकलाई बन्द गराइएको हो ।

अनुगमन टोलीले अस्पताल लाइनकै बुटवल डेन्टल प्रालिलाई पनि बन्द गरेको छ । बन्द गरिएका सबै क्लिनिक सञ्चालकलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र सञ्चालनका लागि अनुमति दिइने सहायक प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button