‘मदन भण्डारीको सपना साकार गर्न समृद्ध नेपाल सुखी नेपालीको अवधारणा’
उदयपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मदन भण्डारीले देखेको सपना साकार गर्न समृद्ध नेपाल सुखी नेपालीको अवधारणा पार्टीले अघि सारेको बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनको आयोजना तथा नेकपा एमाले पार्टी स्कुल विभाग उदयपुरको समन्वयमा आयोजित जनताको बहुदलीय जनवादको आलोकमा समृद्धिको यात्रा विषयक प्रशिक्षणात्मक बिचार गोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले सो कुरा बताउनुभएको हो ।
मदन भण्डारीले आज भन्दा झण्डै ३० वर्ष अघि देखेको सपना जनताको बहुदलीय जनवादलाई मूर्तरूप दिन एमालेले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा अघि सारेको बताउनुभयो ।
नेकपा एमालेले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको महत्त्वपूर्ण राष्ट्रिय आकाङ्क्षालाई राज्यले १५औँ र १६ राष्ट्रिय योजनामा समावेश गरेर अघि बढेकोले एमालेले देखेको सपना आज राष्ट्रकै सपना भएको दाबी उहाँले गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका पूर्व सचेतक विशाल भट्टराई, एमाले पोलिटब्युरो सदस्य मन्जुकुमारी चौधरी, मदन भण्डारी फाउन्डेसन कोशी प्रदेश अध्यक्ष गोपाल गुरागाईँ, एमाले उदयपुरका अध्यक्ष भागवत राउत, उदयपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य अम्बर बहादुर रायमाझीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्