तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्र विरोधीले सङ्घीयतालाई समाप्त पार्ने षडयन्त्र गरिरहेको यादवको भनाइ

बाँके । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरूले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको आरोप लगाउनुभएको छ । 

जसपा नेपाल बाँकेको एकताको प्रथम अधिवेशनलाई आज नेपालगन्जमा सम्बोधन गर्दै अध्यक्ष यादवले भन्नुभयो, “संघीय गणतन्त्रलाई समाप्त गर्न सडकदेखि सदनसम्म लोकतन्त्र विरोधीहरू षडयन्त्र गरिरहेको रहेका छन् ।” उहाँले मुलुकमा लोकतान्त्रिक गणतन्त्र नभए समानता पनि नहुने जिकिर गर्नुभयो ।

सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश विद्रोहबाट परास्त भइसकेको निरङ्कुश शासनको कल्पना समेत नगर्न लोकतन्त्र विरोधीहरू सङ्केत गर्दै अध्यक्ष यादवले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउँदै उहाँले एकल जातीय मूलक कहिले पनि हुन नसक्ने दाबी गर्नु भयो । परिवर्तन पक्षधर शक्तिहरूलाई एकजुट हुन आह्वान गर्दै अध्यक्ष यादवले जनतालाई समेत सचेत हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी महासचिव राम कुमार शर्मा, केन्द्रीय सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्य शैयद इस्तियाक अहमद शाह, अम्बिका काफ्ले लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button