तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक: आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु भएको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्य सहित आगामी आर्थिक वर्षको  राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै यथार्थपरक खर्च र कार्यान्वयनयोग्य विनियोजन प्रस्ताव सहित बजेट प्रस्तुत भएको बताउनुभयो ।

बैठकमा अर्थमन्त्री पौडेलले बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार हुने, निजी क्षेत्रको लगानी बढ्ने, रोजगारीका अवसरहरू सिर्जना हुने, पूर्वाधार आयोजनाहरू निर्धारित समयमा सम्पन्न भई आर्थिक वर्षको अन्त्यसम्ममा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अनुमान रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले बजेटमा केही महत्वपूर्ण नीतिगत सुधारको प्रस्ताव गरिएको र विकासका लागि वैकल्पिक वित्त व्यवस्थापन गर्ने सोचलाई जोड दिएको पनि बताउनुभयो ।

अर्थमन्त्री पौडेलले बजेटमा आयोजना व्यवस्थापन र खरिद प्रक्रियामा महत्वपूर्ण सुधार गरिएको, विनियोजन गरिने अङ्कको सीमा निर्धारण गरिएको र आयोजना कार्यान्वयनको सघन अनुगमनको प्रबन्ध गर्ने प्रस्ताव पनि गरिएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले चालु आवको बजेट कुल जिडिपीको २८ प्रतिशतको हाराहारीमा राखिएको र चालू खर्चको दायरालाई नियन्त्रणमा राख्न प्रस्तुत बजेटले लक्ष्य लिएको बताउनुभयो ।

यस्तै पूजागत खर्च बढाउनुपर्ने मुलुकको आवश्यकताका बाबजुद स्रोत व्यवस्थापनको सीमित सीमाका कारण सबल रुपमा खर्चको आकार वृद्धि गर्न नसकिएको भन्नुहुँदै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको पूजागत खर्च तर्फ १६ प्रतिशतले वृद्धि हुने गरी प्रस्ताव गरिएको बताउनुभयो । 

 अर्थमन्त्री पौडेलले प्रदेश र पालिकाहरूमा जाने वित्तीय हस्तान्तरण वृद्धि गरिएको, राजश्वले कुल खर्च ६७ प्रतिशत खर्च धान्न सक्ने गरी प्रस्ताव गरिएको बताउनुभयो ।

राष्ट्रिय सभा बैठकमा अहिले आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button