‘हिमाल जोगाउन सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ’
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले हाम्रा हिमालको प्राकृतिक सौन्दर्यता जोगाउन राज्यले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति ९रासस०ले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि मन्त्री आधिकारीले हिमशृङ्खला संरक्षणसम्बन्धी प्रभावकारी योजनाका लागि विज्ञसँग परामर्श गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले जलवायु परिवर्तनबाट हिमाल र हिमाली जनजीवनमा परेको असर न्यूनीकरण गर्न सबै नेपाली गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
“जलवायु परिवर्तनबाट हिमालमा परेका असर कम गर्नेबारे सरकारले विभिन्न तहमा छलफल गरिरहेको छ, यसलाई बचाउन गम्भीरतापूर्वक योजनाबद्ध रूपमा सरकार अघि बढिरहेको छ”, मन्त्री अधिकारीले भन्नुभयो । नेपालमा भएका प्राकृतिक सुन्दरता, सम्पदा र अथाह स्रोतसाधनबारे आमजनतालाई बुझाउन नसक्दा कहिलेकाहीँ नेपालमा केही छैन भन्ने प्रश्न उठ्ने गरेका जनाउँदै उहाँले नेपालमा जस्तो प्राकृतिक सम्पदा अयन्त्र नभएको दाबी गर्नुभयो ।
मुलुकका सम्पूर्ण हिमाल राससको तस्बिर प्रदर्शनीमा समेटिएका अवलोकनका क्रममा पाएको बताउँदै मन्त्री अधिकारीले प्रदर्शनीमा राखिएका तस्बिरमार्फत हाम्रा अमूल्य निधि हिमाल, हिमाली जनजीवन, प्राकृतिक सुन्दरतालगायत मुलुकको विशेषता झल्किएको बताउनुभयो ।
त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मन्त्री अधिकारीलाई स्वागत गर्दै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीबाट नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे जानकारी लिन उपयुक्त थलो बनेको विश्वास व्यक्त गर्नुभयो ।
यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्