पर्यटकको रोजाइ बन्दै रुकुमपूर्व
रुकुमपूर्व । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक स्थलहरूको संगम भएको रुकुमपूर्व पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

हिमाल, लेक, वनजंगल, नदी तथा मगर संस्कृति र जनजीवनसहितका विविध विशेषताले रुकुमपूर्वलाई पर्यटकीय सम्भावना बोकेको जिल्ला बनाएको हो ।
जिल्लाको सिस्ने र पुथा हिमाल क्षेत्रमा पदयात्रा गर्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । साथै, तकसेरा, काँक्री, लुकुम, दादिङ, महतलगायत मगर बस्तीहरूमा मगर समुदायको संस्कृति, नाचगान, मेला र लोक पर्वले पर्यटकलाई आकर्षित गर्न थालेको छ ।

पदमार्गका रूपमा सिस्ने र पुथा हिमाल क्षेत्र नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको पुथा उत्तरगङ्गा गाउँपालिकाका पर्यटन व्यवसायी तथा वरिष्ठ पत्रकार मैत्या घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार पदयात्राका क्रममा पर्यटकहरूले हिमाली दृश्य, गाउँले जीवनशैली र स्थानीय संस्कृति एउटैसाथ अनुभव गर्न पाउँछन् ।
रुकुमपूर्वको सानीभेरी नदीमा साहसिक जलयात्रा, कमल दह, सुनदह, गुप्ता दह, मारिङ लेक, चौरी लेक, देउराली गुफा जस्ता स्थलले पनि पर्यटक तान्न थालेका छन् ।
यस्तै, धार्मिक र ऐतिहासिक दृष्टिले महत्व बोकेका कमल दह, शिवालय मन्दिर, भट्टे चौर, ठाँटी डाँडा, युद्ध स्मारक तथा जनयुद्धकालीन स्थलहरूमा पर्यटकको चाप बढ्दै गएको देखिन्छ ।
काठमाडौँबाट रुकुमपूर्व घुम्न आएकी पर्यटक रेनु यादवले यहाँको संस्कार, संस्कृति र आतिथ्य सत्कारबाट आफू गहिरो रूपमा प्रभावित भएको बताउनुभयो ।
स्थानीय तहहरू सिस्ने, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाले पर्यटकीय पूर्वाधार विकास, गाइड तालिम, होमस्टे प्रवर्द्धनजस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन् ।
तीनै गाउँपालिकाका अध्यक्षहरू — कृष्ण रेग्मी, होमप्रकाश श्रेष्ठ र पुनीराज घर्ती मगरका अनुसार आ–आफ्नो पालिकाअनुसारको योजनाअनुरूप संरचना विस्तार र प्रचारप्रसारका कामलाई तीव्रता दिइएको छ ।
प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र ऐतिहासिक विरासतले भरिपूर्ण रुकुमपूर्व अब केवल जनयुद्धको इतिहासको मात्र नभई, पर्यटकीय गन्तव्यको नयाँ नक्सामा दरिँदै गएको छ ।
प्रतिक्रिया राख्नुहोस्