तपाईँ सुन्दै हुनुहुन्छः

वरिष्ठ साहित्यकार रसिकको निधन

काठमाडौँ । वरिष्ठ सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा आज निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहनुभएका उहाँको आज बिहान ११ बजे निधन भएको सङ्गीतकार बुलु मुकारुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार रसिककी छोरी बेलायतबाट फर्किएपछि रसिकको दाहसंस्कार गरिने छ । उहाँको पार्थिव शरीर अहिले महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । 

भोजपुर छिनामाखुमा विसं २००४ असोज ४ मा जन्मनुभएका रसिक पचासको दशकमा इलाम सर्नुभएको थियो । करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आउनुभएका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रुपमा परिचय बनाउनुभएको थियो ।

उहाँका सारङ्गीभित्र कथासङ्ग्रह, गणेश रसिकका गीतहरू, आकाश गङ्गाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरू  टेक्दै हिँडेलगायतका कथा, कविता, निबन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उहाँका छोरा र श्रीमतीको यसअघि नै निधन भइसकेको छ । हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ, तराई हेर कति राम्रो हरियो वन हुनाले, मेरो टाउको सानो छ, यो  टाउको विशाल देश छ, रातो भाले क्वाँए क्वाँएजस्ता राष्ट्रिय र लोकगीत गाउनुभएको थियो । उहाँका केही रचना विद्यालयका पाठ्यपुस्तकमा समावेश छ ।

साहित्यकार रसिकले रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button